द सिनेमा टाइम्स, काठमाडौं । जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन् । दृश्यमा वसुन्धराले दयालाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन् । त्यसपछि वसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन् । भिडियो अनुसार, उक्त रकम सहकारी संस्थामा जम्मा गर्न दिइएको बुझिन्छ ।
भिडियोमा लेखिएको सन्देशमा भनिएको छ, ‘सम्पूर्ण आमाहरूको सम्मानमा,सिनेमा ‘महाभोज’ परिवारको तर्फबाट आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी) को हार्दिक मङ्गलमय शुभकामना। अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन ।’
‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । निर्देशकका अनुसार, सिनेमा पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् । आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।


प्रतिक्रिया