पुराना भेट्रान र नयाँ पुस्ताको सहकार्यमा ‘नरसिंहाः अवतार’ कस्तो होला ?

पुराना भेट्रान र नयाँ पुस्ताको सहकार्यमा ‘नरसिंहाः अवतार’ कस्तो होला ?


द सिनेमा टाइम्स, काठमाडौं । केही समय अगाडि निर्देशक दिवाकार भट्टराईले नेपाली सिनेमा उद्योगमा प्लेब्याक सिङगिङका लागि गायकगायिका नै नभएको बताएका थिए ।

तिनै दिवाकरले आफ्नो सिनेमा ‘नरसिंहाः अवतार’मा पुरानो गीत प्रयोग गरेका छन् । ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीत प्रयोग गरेका छन् ।

रि–रेकर्डिङ गरेर प्रयोग गरिएको गीतमा शम्भुजित बास्कोटाको स्वर छ । लेडिज भोकल देविका बन्दनाको ठाउँमा रचना रिमालको राखिएको छ ।

यो गीत आफैँमा लोकप्रिय गीत हो । कुनै समय नेपाली सिनेमा उद्योगमा एकछत्र संगीतमा राज गरेका शम्भुजितको सयौँ हिट नम्बरमध्ये यो पनि एक हो ।

यो गीतले ‘नरसिंहाः अवतार’को हाइप बढाइदिएको छ । भिडियोमा पनि दिवारकले राम्रै बजेट खर्चिएका छन् । जसले सिनेमालाई फाइदा नै गर्नेछ ।

शम्भुजितको स्वर र उनकै फ्लेबरका कारण अग्रज पुस्तामा यो सिनेमाको पब्लिसिटी गर्न निर्माणपक्षलाई सहज भएको छ । नयाँ पुस्तामा पुग्न रचना रिमालको स्वर रहेकाले सहज भएको छ ।

राजेश हमालका आफ्नै छुट्टै फ्यान छन् । आठ वर्षपछि उनको कमब्याक भएकाले पनि ‘नरसिंहाः अवतार’लाई पब्लिसिटीमा सहज भएको छ ।

सरोज खनाल पनि यो सिनेमामा छन् । यसले पनि अघिल्लो पुस्ताका दर्शकलाई हलमा तान्न सहज हुनेछ । त्यसमा पनि तीन दशकपछि राजेश र सरोजको सहकार्य भएकाले पनि ‘नरसिंहाः अवतार’को निर्माण टिमलाई सिनेमाको प्रचार गर्दै हाइप बनाउन सहज भएको छ ।

पछिल्लो समय एकै खालका गीत आएर मोनोटोनस भइरहेका बेला दर्शकलाई पुरानै भए पनि कमर्सियल टाइपको गीतले फ्रेसनेस दिएको छ । पार्श्व गायनको साँच्चै अभाव रहेका बेला यसले दर्शकको ध्यान तानेको छ ।

‘नरसिंहाः अवतार’मा पुराना भेट्रानहरूसँगको सहकार्य र जुरेको संयोगलाई निर्देशक दिवाकर भट्टराईले कसरी सिनेमामा उपयोग गरेका छन्, त्यसमा सिनेमालाई दर्शकले कसरी लिनेछन् निर्भर हुनेछ । नयाँ र अग्रजको सहकार्यले सिनेमालाई सबै खालका दर्शका पुर्याउने प्रयासमा निर्देशकको ध्यान देखिएको छ ।

‘नरसिंहाः अवतार’ जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारको अभिनय छ ।

चन्द्र पन्तको कथा रहेको सिनेमामा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।

क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।