द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट ५७ सकेण्ड लामो ट्रेलरले ‘ऊनको स्वीटर’को कथावस्तुबारे प्रकाश पारेको छ । सिनेमाको यो ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।
सार्वजनिक ट्रेलरमा लेककी गुरुङसेनी युवती र औलको काफ्ले ब्राम्हण युवकबीचको प्रेम सम्बन्ध र त्यसबीचमा आउने जातीय अन्तर्विरोधको कथा छ । निर्देशक नवीन चौहानले पूर्वी नेपालको उच्च पहाडी भूगोल, परिवेश, आञ्चकलिताको सेटिङमा मानवीय सम्बन्ध र यसबीच आइपर्ने संवेदना, अवरोध र पीडाको कथा उठाएका छन् । सुजन चापागाईं र झुमा लिम्बुको गीतले ट्रेलरलाई मर्मस्पर्शी तुल्याएको छ । कथा र संगीतको संयोजन सिनेमाको विशेष पक्ष रहेको बुझ्न सकिन्छ ।
नेपाली सिनेमामा पछिल्लो समय सरल र सहज प्रेमकथाका सिनेमा नआइरहेको बेला ‘ऊनको स्वीटर’ले त्यो अभाव पूर्ति गर्ने अपेक्षा गर्न सकिन्छ । विशेषगरि ग्रामिण जीवन बाँचेका, अटोग्राफमा प्रेमका शब्द लेखेर भाव साटासाट गर्ने ९० को दशकको क्षणलाई सिनेमाको ट्रेलरले ताजा तुल्याइदिएको छ । त्यो जीवन बाँचेका दर्शकले यो सिनेमा हेरिरहँदा ‘नोस्टाल्जिक’ महसुस गर्न सक्छन् ।
सिनेमाको ट्रेलरमा विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बु, सुनिल पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारको झलक पनि समेटिएको छ । आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो । निर्देशक नवीन चौहानले सिनेमाको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए ।
सुजन चापागाईं र झुमा लिम्बुको संगीत र नवीन चौहानको लेखन रहेको सिनेमाले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ । यो सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछन् ।



प्रतिक्रिया