द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘के घर के डेराः घर नंम्बर २’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट २० सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे प्रकाश पार्छ ।
कविता माध्यमबाट प्रस्तुत गरिएको ट्रेलरमा छोरालाई जसरी पनि घर जोगाउन सल्लाह दिँदै गरेका अभिनेता हरिहर शर्माको दृश्यबाट सुरु हुन्छ । बाबुको सल्लाह शिरोपर गर्न संघर्षरत छोराको पात्रमा अभिनेता खगेन्द्र लामिछाने देखिन्छन् । सहरमा आएर जीविकोपार्जनको लागि मरिमेट्ने पात्रको रुपमा उसलाई प्रस्तुत गरिएको छ । ऊ आफूलाई बीचको मान्छे बताउँछ ।
निर्देशक दीपेन्द्र के खनालले खगेन्द्रको पात्रलाई बीचको मान्छेको रुपमा चित्रण गर्दै आममध्यम वर्गको कथा भन्ने प्रयत्न गरेका छन् । काब्यात्मक शैलीमा प्रस्तुत गरिएको न्यारेसनको पृष्ठभूमिमा ट्रेलरले सिनेमाका मुख्य पात्रको चरित्र चित्रण गरेको छ । आर्यन सिग्देल र केकी अधिकारीले ऋणमा डुबेका दम्पतीको भूमिका निर्वाह गरेका छन् । प्रकाश घिमिरे ऋणको बोझमा आत्मदाह गर्न लागेको दृश्यमा देखाइएको छ ।
निश्चल बस्नेत, उपासनासिंह ठकुरीजस्ता कलाकार पनि ऋणको बोझमा थिचिएका समस्याग्रस्त पात्र देखिन्छन् । निर्देशकले खगेन्द्रको पात्रमार्फत नैतिक उपदेशको सन्देश दिने प्रयास पनि गरेका छन् । ट्रेलरको अन्त्यमा पैसा कमाउनुभन्दा जीवनमा मान्छे र आशीर्वाद कमाउनु र खुसी हुनु महत्वपूर्ण छ भन्ने सन्देश दिइएको बुझ्न सकिन्छ । जसले दर्शकमाझ सिनेमाप्रति कौतुहल्ता पैदा गर्न सक्षम देखिन्छ ।
उपन्यासकार बुद्धि सागरको लेखन रहेको सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको अभिनय छ । सिनेमाको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन तथा कार्यकारी निर्मातामा युवराज कार्की छन् ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको संयुक्त प्रस्तुति रहेको यो सिनेमा आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । सिनेमामा कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, सञ्जय थापाको द्वन्द्व निर्देशन, केविका खत्रीको कोरियोग्राफी तथा शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ ।


प्रतिक्रिया