चलचित्र विकास बोर्डले भन्यो– दीर्घकालीन योजनाहरूमा यी काम हुँदैछन्, तत्काल एकैपटक चार कार्यक्रम

चलचित्र विकास बोर्डले भन्यो– दीर्घकालीन योजनाहरूमा यी काम हुँदैछन्, तत्काल एकैपटक चार कार्यक्रम

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली सिनेमा क्षेत्रको विकासका लागि सक्रियता देखाएको छ । बोर्डले एकैसाथ चार स्थानमा कार्यक्रम सञ्चालन गरिरहेको छ । बोर्डले दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि एकसाथ अघि बढाएको छ ।

बोर्डको सहकार्यमा अहिले देशका विभिन्न ठाउँमा सिनेमासँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा रहेको बोर्डले जनाएको छ ।

एकैपटक चारवटा सिनेमासम्बन्धी कार्यक्रम भइरहेको बोर्डले बताएको छ । काठमाडौंमा ‘वुमेन मेक फिल्मस्’ कार्यशाला भइरहेको छ । महिलाहरूको सिनेमामा क्षेत्रमा सहभागिता र क्षमता विकासका लागि दुई हप्ते कार्यशाला संचालनमा छ ।

यो कार्यक्रम महिला निर्माता, निर्देशक र प्राविधिकहरूलाई सिनेमा निर्माणका व्यावहारिक पक्षहरूमा सशक्त बनाउन केन्द्रित छ ।

पोखरामा ‘लाइट, क्यामेरा वर्कसप’ चलिरहेको छ । नयाँ पुस्तालाई सिनेमा निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउने उद्देश्यले पोखरामा कार्यशाला सुरु गरिएको हो । वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । यसले क्षेत्रीय प्रतिभाहरूलाई केन्द्रसम्म ल्याउन सहयोग गर्ने अपेक्षा छ ।

रारामा ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ भइरहेको छ । सुदूरपश्चिम कर्णाली क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधतालाई सिनेमामार्फत प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव सञ्चालनमा छ ।

दोलखामा थामी समुदायको विवाह संस्कृति सम्बन्धी डकुमेन्ट्री छायांकन भइरहेको छ । लोपोन्मुख जातीय संस्कृतिको दस्तावेजीकरण गर्दै, बोर्डको सहकार्यमा थामी जातिको विवाह परम्परा सम्बन्धी वृत्तचित्र निर्माण भैरहेको छ ।

दीर्घकालीन योजना कार्यान्वयनतर्फ पनि बोर्डले काम गरिरहेको जनाएको छ । सिनेमा विकास ऐन संसदमा छ । यसमा बोर्डको महत्वपूर्ण पहल रहेको उसको दाबी छ ।

सिनेमा विकास ऐन अन्ततः संसदमा प्रस्तावित भएको छ । यसले सिनेमा उद्योगलाई कानुनी संरचना, संस्थागत स्पष्टता र दीर्घकालीन स्थायित्व दिनेछ । नीति निर्माणदेखि वितरण, लगानी र सेन्सरसम्मका विषयहरू अब विधिसम्मत प्रक्रियामा आउने बोर्डको विश्वास छ ।

सिनेमा स्टुडियो निर्माण प्रक्रिया सुरु भएको छ । ‘राष्ट्रिय सिनेमा स्टुडियो’ निर्माणको प्रक्रिया अन्ततः बनेपामा यसै महिनाभित्रै शिलान्यास गर्ने तयारी गरिएको छ । यो स्टुडियो निर्माणले सिनेमा निर्माणमा आवश्यक प्रविधि, सेट र पोस्ट प्रोडक्सन पूर्वाधारको अभावको समाधानतर्फ पहिलो ठोस कदम हुने बोर्डले बताएको छ ।

बक्स अफिस प्रणाली कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेको बोर्डको भनाइ छ । पटक-पटक स्थगित हुँदै आएको बक्स अफिस प्रणाली अब कार्यान्वयनको अन्तिम तयारीमा पुगेको छ ।

एकपटक प्रणाली लागु भएपछि टिकट बिक्री, दर्शक तथ्यांक र आम्दानी सम्बन्धी यथार्थपरक डाटा उपलब्ध हुनेछ । जसले पारदर्शिता र व्यवसायिक विश्वसनीयता बढाउने बोर्डको भनाइ छ । यसको अनलाइन निर्माण प्रक्रिया सम्पन्न गरेर यसै महिनाभित्र उद्घाटन गर्ने तयारी छ ।

अनलाइन सर्भिसको निर्माण पूरा भएको छ । बोर्डले गर्ने सम्पूर्ण कामलाई अनलाइनबाट नै घरै बसेर गर्न मिल्ने गरी अनलाइन सर्भिसको तयारी गरेको बोर्डले जनाएको छ । यसबाट सेवाग्राहीले होम सर्भिस सेवा पाउने बोर्डको भनाइ छ । बोर्डले वेवसाइटको निर्माण प्रक्रिया पूरा गरेको र सेवा यही वैशाखभित्र उद्घाटन गर्ने तयारी छ ।

इलाममा बाल सिनेमा महोत्सवको तयारी भइरहेको बोर्डले जानकारी दिएको छ । जेठको पहिलो हप्ता ‘देशको लागि सिनेमा’ भन्ने नारासहित बाल सिनेमा महोत्सवको तयारी इलाममा भइरहेको छ ।

जसले सिनेमा मार्फत बालबालिकामा सृजनात्मक चेतना र सांस्कृतिक ज्ञान अभिवृद्धि गर्ने लक्ष्य राखिएको बोर्डले बताएको छ ।