द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते रिलिज हुने सिनेमा ‘महाभोज’ गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जहाँ सिनेमाको निर्माण युनिट र पत्रकारको बाक्लो उपस्थिति थियो ।
चर्चित निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द रचना तथा कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयंम गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ ।
कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा निर्माण गरेका छन् । सार्वजनिक गीतको भिडियोमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन् । गीतको भिडियो मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ । जहाँ परिवार, साथीभाइ र गाउँको रमाइलो माहौल झल्किएको छ ।
सिनेमाको गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘महाभोज’ले नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए । कार्यक्रममा उपस्थित कलाकारहरूले सिनेमा तथा गीत छायांकनका अनुभव प्रस्तुत गरेका थिए । विशेष गरी दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभएता पनि ‘महाभोज’का गीतहरूमा नृत्य गरेको बताए ।
यो गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए । सन् २०१२ मा एकै वर्ष सिनेमा निर्देशनको सुरुआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित सिनेमा ‘पर्व’मा सहकार्य गरेका थिए । यो सिनेमाको चर्चित गीत ‘काले दाईमा निश्चलले स्वर दिएका थिए भने नृत्य समेत गरेका थिए ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘महाभोज’ नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारको अभिनय छ ।
किरण नेपाली कार्यकारी निर्माण रहेको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले तयार पारेका हुन् । मनोज जोशी र सुदीप ढकाल लाइन प्रोड्युसर रहेको सिनेमामा राजेश श्रेष्ठ छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।


प्रतिक्रिया