द सिनेमा टाइम्स, काठमाडौं । सौगात मल्ल नेपाली सिनेमा उद्योगका लोकप्रिय अभिनेता हुन् । त्यसैले उनी निर्माता र निर्देशकको रोजाइमा पर्छन् ।
निर्माता र निर्देशकको रोजाइमा पर्दा हरेक वर्ष ठूलो संख्यामा सिनेमा रिलिज हुन्छन् । हरेक महिना जस्तो उनको सिनेमा रिलिज हुनु सामान्य हो । कहिले काहीँ त हप्तैपिच्छे उनका सिनेमा प्रदर्शन हुन्छन् ।
काम गर्न सजिलो हुनु, एक्सन र सोसल दुवैमा फिट हुनु र पारिश्रमिकमा धेरै कसिकसाउ नगर्नु उनका सिनेमा रिलिज भइरहनुका कारण हुन् ।
अहिले हलमा रहेको ‘पिताम्बर’मा उनी छन् । यो सिनेमाको मुख्य भूमिकामध्ये एकमा छन्, उनी ।
यही २६ गतेबाट रिलिज हुने सिनेमा ‘जार’मा पनि सौगात छन् । यसमा सौगात मुख्य भूमिकामा छन् । साहित्यकार इन्द्र बहादुर राईको कथा जारमा आधारित रहेर बनको सिनेमाको मुख्य भूमिका सौगातले निभाएका छन् ।
यसलगत्तै फेरि सौगातका दुई सिनेमा रिलिज हुँदैछन् । ‘जन्ते बाख्रो’ जेठ २३ गते र ‘भाइरल गोर्खे’ जेठ ३० गते रिलिज हुँदैछन् ।
एकै दिन रिलिज मिति परेपछि एउटै कलाकार मुख्य भूमिकामा भएका दुई सिनेमा एकै दिन रिलिज नगरौँ भनेर मेकरले हप्तादिनको फरकमा रिलिज गर्न लागेका हुन् ।
‘भाइरल गोर्खे’ले टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई समेटेको छ । रोगकै रूपमा विकास भइरहेको यो ट्रेन्डलाई समाएर बनेको सिनेमाले समसामयिक र जल्दोबल्लो विषय भएकाले यसले दर्शकको मन जित्नेमा निर्माण टिमले बताएको छ ।
समसामयिक विषय त्यो पनि हरेक घरको विषय भएकाले सिनेमा दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् । कमेडी र ह्युमर पनि रहेकाले दर्शकका लागि सिनेमा पूर्ण प्याकेज भएको उनले बताए ।
‘भाइरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । सौगात र सृष्टिमार्फत निगमले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउँदै गरेको भाईरल प्रवृतीलाई व्यंग गर्नेछन् ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।
विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
सिमोस सुनुवारले निर्देशन गरेको सिनेमा ‘जन्ते बाख्रो’ले नेपाली ग्रामीण समुदायमा केही समय अगाडिसम्म रहेको ‘जन्ते बाख्रो’ खाने परम्पराको कथा भन्दैछ । बेहुलाको तर्फबाट गएका जन्तीलाई बेहुलीपक्षले बारीको पाटो अथवा खुला ठाउँमा खसी काटेर मासु भात टपरीमा खुवाउने चलन केही समय अगाडिसम्म गाउँमा थियो ।
यही ‘जन्ते बाख्रो’ खुवाउने चलनलाई ‘जन्ते बाख्रो’ले सिनेमाले देखाउनेछ । आफू र आफ्नो टिमले ‘जन्ते बाख्रो’ निर्माणमा निकै मेहनत गरेकाले दर्शकले सिनेमा रुचाउनेमा निर्देशक ढुक्क छन् ।
निर्देशक सिमोसले एउटा राम्रो सिनेमा पस्किने बताए । यो सिनेमाका लागि कलाकारदेखि कथा लेखनसम्म आफ्नो टिमले निकै मेहनत गरेकाले दर्शकलाई ‘जन्ते बाख्रो’ मन पर्नेमा उनी विश्वस्त छन् ।
सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारहरुको अभिनय रहेको छ ।
मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।
सिनेमा हरि हुमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ट्राइडेन्ट कन्सेप्ट को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।


प्रतिक्रिया