‘जार’ देखि सन्तुष्ट सौगात र अनुपविक्रम

‘जार’ देखि सन्तुष्ट सौगात र अनुपविक्रम


द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जार’ले दर्शकलाई कति सन्तुष्टि दिन्छ, त्यो त अबका केही दिनमै टुंगो लाग्नेछ । तर, यसले अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीलाई भने पूर्ण सन्तुष्टि दिएको छ ।

अनुपविक्रमको भने यो पहिलो क्यारेक्टर मुभी हो । क्यारेक्टर आर्टिस्टका रूपमा पहिलो अनुभव हो ।

सौगातलाई २७ वर्ष अगाडि नै ‘जार’ कथा पढ्दा यसमा नाटक बनाएर खेल्ने रहर थियो । नाटक बनाएर अभिनय गर्ने रहर भएका सौगातले यही सिनेमामा काम गर्न पाएपछि सन्तुष्टि मिल्ने नै भयो ।

साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’मा आधारित रहेर निर्माण गरिएको सिनेमामा सौगात मुख्य भूमिकामा छन् ।

२७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरे नाटकमा अभिनय गर्न नपाए पनि नाटक भने पढेको बताउँदै सौगातले भने, ‘म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ ।’

‘जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो । त्यसबेला सिनेमाबारे त सोच्ने भइसकेको थिइनँ,’ सौगात भन्छन्, ‘त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो ।’

मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि ‘जार’मा आफू खेल्न तयार रहेको उनले बताए ।

कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा बसेको उनी सुनाउँछन् । ‘मैले जब यो कथा पढेँ । मलाई यो कथाले यसरी तान्यो म त्यसभित्रै डुबेछु,’ सौगात भन्छन्, ‘तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो । आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा सिनेमा बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ ।’

२७ वर्षपछि त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको सौगात बताउँछन् । आफूले सपना देखेको सिनेमामा काम पनि त्यसैगरी गरेको उनले बताए । नाटकमा नभए पनि त्यो सपना सिनेमामा पूरा भएको सौगातले सुनाए ।

अनुप विक्रम शाही पहिलोपटक यही सिनेमा ‘जार’ मार्फत चरित्र अभिनेताका रूपमा देखिँदै छन् । कमर्सियल सिनेमामा एक्सन भूमिकामा देखिँदै आएका अनुपले पहिलोपटक ‘जार’मार्फत चरित्र अभिनयमा डेब्यु गरेका छन् ।

कामका हिसाबले उनका लागि पनि यो सिनेमा नयाँ हो । ‘जार’मा उनले जति अनुभव संगालिरहेका थिए, त्यति नै चुनौती पनि महसुस गरिरहेका थिए ।

‘मलाई दर्शकले यसभन्दा अगाडि कर्मसियल सिनेमामा काम गरेको देखिरहनु भएको थियो । त्यसैले यो च्यालेन्जिङ पनि थियो । पात्र पनि हेभी छ,’ अनुप विक्रम भन्छन्, ‘नेपाली समाजमा घटेको घटनालाई टिपेर लेखिएको कथामा बनेको सिनेमा भएकाले यसमा चुनौती थियो । चुनौतीअनुसार मेहनत पनि गरेको छु ।’

कल्चर, भाषा, कष्ट्युम, लवज र पिरयोडिकल सिनेमा भएकाले पनि कठिन भएको उनको भनाइ छ । यद्यपि, समय लिएर काम गरेको उनले बताए ।

अनुप विक्रम एन्टागोनिष्ट हुँदा ‘जार’मा सौगात प्रोटागोनिस्टको क्यारेक्टरमा छन् । सौगात आफैँमा कुशल क्यारेक्टर आर्टिस्ट हुन्, त्यसैले उनकै अनुपातमा पफर्मेन्स हरेक फ्रेमले माग्छ। अर्थात् सौगातकै हाराहारीमा अभिनय अनुप विक्रमले गर्नुपर्छ ।

‘उहासँगै काम गर्दा मलाई जति चुनौती थियो त्यति नै सहज पनि थियो । मैले सँगै काम गर्दा उहाँबाट सिक्ने मौका पाएँ । कति कुरा यो कसरी गर्ने भनेर सोध्थेँ पनि,’ अनुप विक्रम भन्छन्, ‘सौगात दाइसँग काम गर्दा सुनमा सुगन्ध भइदियो । काम गर्न नै सहज भयो ।’

सुरुमा ‘जार’का लागि अफर आउँदा गर्न सक्छु कि सक्दिन, गरौँ कि नगरौँ भनेर कन्फ्युजन भएको उनले सुनाए । तर, निर्देशकले जारको हर्षजित तिमै नै हो, तिमीले नै गर्नुपर्छ भनेपछि मैले पनि आँट गरेको उनले सुनाए ।