द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले तत्काल सम्पूर्ण सेवा अनलाइनबाट प्रदान गर्ने भएको छ ।
अनलाइन सर्भिसको निर्माण कार्य सबै पूरा भएको बोर्डले जनाएको छ । बोर्डले गर्ने सम्पूर्ण कामलाई अनलाइनबाट नै घरै बसेर गर्न मिल्ने गरी अनलाइन सर्भिसको तयारी गरेको हो ।
अब सेवाग्राहीले होम सर्भिस सेवा पाउने बोर्डको भनाइ छ । बोर्डले वेभसाइटको निर्माण प्रक्रिया पूरा गरेको र सेवा केही समयभित्रै उद्घाटन गर्ने तयारी छ ।
चलचित्र विकास बोर्डका अनुसार बोर्डले विभिन्न खालका गरी जम्मा ३३ वटा सेवा प्रदान गर्दै आएको छ । यसमध्ये ३० वटा काम अब बोर्डले अनलाइनबाट प्रदान गर्नेछ ।
तीनवटा सेवा भने अनलाइनबाट दिन नसक्ने भएकाले सेवाग्राही बोर्डमै जानुपर्नेछ । हार्डकपीमै हुने कामका लागि मात्रै अब बोर्डमा जानुपर्नेछ । यस्ता कामको संख्या तीनवटा मात्रै छन् ।
हार्डकपीमै हुने बाहेकका काम बोर्डले आफैँ गरेर सेवाग्राहीको घरमै डेलिभरी गरिदिने बोर्डले जनाएको छ ।
चलचित्र विकास बोर्डले चलचित्र निर्माणको दर्ता, नवीकरण, केन्द्रीय चलचित्र जाँच पास समितिलाई सेन्सरका लागि सिफारिस गर्ने, हललाई सिनेमा रिलिका लागि प्रदशर्नको कोड प्रदान गर्नेलागयत ३३ प्रकारका काम गर्दै आएको छ ।
अब अनलाइनबाटै काम हुने भएपछि बोर्डमा धाइरहनुपर्ने झन्जट कम हट्ने भएको छ । बोर्डमै पुगेर गरिने काममा ढिलासुस्ती नहुने भएको छ ।


प्रतिक्रिया