द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऊनको स्वीटर’ले बक्सअफिसमा शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको छ । यसैबीच आइतबार आज यो सिनेमाको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।
सिनेमाका निर्देशक नवीन चौहानले गीतको रिलिज दर्शकको माग अनुसार गरिएको जानकारी दिए । उनका अनुसार, सिनेमाका सुरुवाती दर्शकलाई सरप्राइज दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको हो । साथै, यो गीत अभिनेता दिलीप रायमाझी र अभिनेत्री निरुता सिंहलाई समर्पित गरिएको आर्टमाण्डूले जनाएको छ ।
गीत सार्वजनिक गर्दै आर्टमाण्डूले भनेको छ, ‘चाइनेजो जिन्दगानीमा गीत मार्फत हामी आर्टमाण्डूको नेपाली सिनेमाको स्वर्ण युगप्रतिको हार्दिक श्रद्धा अनि सम्मान हो, जसले नेपाली सिनेमालाई आजको स्थान सम्म पुग्न आधार तय गरेका थिए । सुजन चापागाईँद्वारा संगीत एवम् स्वर बद्ध यो गीत सम्माननीय दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको छ । जसले त्यो युगको नोस्टाल्जिया र रोमान्सलाई समेट्छ ।’
सार्वजनिक गीतमा सुजनलाई गायनमा सलिना बिकले साथ दिएकी छन् । यो गीतको संगीत पनि चापागाईंले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ले हलमा उल्लेखनीय व्यापार गरिरहेको छ । आइतबार तेस्रो दिनसम्म आइपुग्दा पनि दर्शकको उत्साह घटेको छैन । सोमवार सार्वजनिक बिदा भएकाले व्यापार अझ तीव्र हुने अपेक्षा गरिएको छ ।
सिनेमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल अभिनीत ‘ऊनको स्वीटर’का प्रचार सामाग्री ट्रेलर, टिजर र गीतले दर्शकमाझ उच्च हाइप बनाएका थिए । जसले गर्दा पहिलो दिनदेखि नै हलमा दर्शकको चाप उच्च देखिएको हो ।


प्रतिक्रिया