‘के घर के डेरा : घर नं २’का निर्देशक र कलाकार भन्छन्- सबैको कथा हो, धेरैको मन जित्नेछ

‘के घर के डेरा : घर नं २’का निर्देशक र कलाकार भन्छन्- सबैको कथा हो, धेरैको मन जित्नेछ


द सिनेमा टाइम्स, काठमाडौं । थुप्रै फेस भ्यालु एउटै सिनेमामा रहेको सिनेमा बन्ने क्रम बाक्लिएको छ । एकपछि अर्को यस्ता सिनेमा रिलिज भइरहेका छन् । थुप्रै यस्तै सिनेमा लाइनअपमा पनि छन् । यस्तै मध्येको एउटा सिनेमा हो ‘के घर के डेरा : घर नं २’ । जुन रिलज हुँदैछ जेठ २ गते ।

यो सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारीलगातय कलाकार छन् । यी सबै कलाकार एउटै सिनेमामा छन् । जसले यो सिनेमा यतिबेला चर्चामा छ ।

मौलिक कथामा बनेको यो सिनेमाले घर र डेराको विषय उठाउँदैछ । त्यसैले यो सबैको कथा भएको भएको र धेरैको मन जित्ने यसका कलाकार र निर्देशकले बताइरहेका छन् ।

गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने भाष्य यो सिनेमाले चिर्ने अभिनेता खगेन्द्रले बताएका छन् । गाउँबाट सहरमा आएर संघर्ष गर्ने र सपना देख्नेहरूको कथा ‘के घर के डेरा : घर नं २’ले उठाएको उनको भनाइ छ ।

जीवनमा हरेक व्यक्ति कुनै न कुनै समय घरभेटी वा डेरावाल भएको भन्दै उनले भने, ‘म पनि पोखरादेखि डेरावाल हुँ । म जस्तै कति मान्छे डेरावाल हुुनुहुन्छ । कति घरभेटी हुनुहुन्छ । डेरावालका पनि समस्या छन् । घरभेटीका पनि समस्या छन् । ती सबैका कथा यो सिनेमाले भन्छ । त्यसैले यो सबैको कथा हो । सबैको मन छुन्छ भन्ने लागेको छ ।’

उनले गाउँमा गएर खिचिएका कथा मात्रै नेपालीका कथा मौलिक हुन् भन्ने बुझाइ रहेको भन्दै सबै कथम हाम्रा आफ्नै र मौलिक हुन् भन्ने बुझ्न आवश्यक रहेको उनको भनाइ छ ।

निर्देशक दीपेन्द्र के खनाल घर के हो र डेरा के हो भन्ने सिनेमाले देखाउने र तर भौतिक संरचनालाई मात्रै घर नभन्ने बताएका छन् । सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर होइन भन्दै उनले भने, ‘घर बन्न इमोसन र सम्बन्ध चाहिन्छ । हो यसकै मिठो कथा छ यो सिनेमामा ।’

आफूले गाउँमा भन्दा सहरमा ठूलो समस्या रहेकाले सहरका कथा भन्ने गरेको उनको भनाइ छ । ‘गाउँमा सहरमा भन्दा सर्भाइभ गर्न सहज छ । गाउँमा सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, सहरमा कसैलाई कसैले चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन ।’

अभिनेत्री केकी अधिकारीले दीपेन्द्र के खनालसँग पहिलोपटक काम गरेको बताइन् । उनले पनि ‘के घर के डेरा : घर नं २’ले मौलिक कथा उठान गरेको बताइन् ।

गाउँकै कथा मात्रै मौलिक नहुने भन्दै उनले अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हुने तर्क गरिन् । त्यसैले ‘के घर के डेरा : घर नं २’ गाउँबाट सहरमा आएकाहरूको मौलिक कथा भएको उनले बताइन् । ‘के घर के डेरा: घर नं २’ को सबैभन्दा बलियो पक्ष यसका लेखक र निर्देशक रहेको उनले बताइन् ।

एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग जोडिन्छन् र आआफ्नो कथा भन्छन् भन्ने विषय नै यो सिनेमाको बलियो पक्ष भएको उनको भनाइ छ । सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको सिनेमा ‘के घर के डेरा : घर नं २’ले जेठ २ गते रिलिज हुँदैछ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको सिनेमा हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।