द सिनेमा टाइम्स, काठमाडौं । पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘के घर के डेराः घर नं २’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । मल्टी स्टारर कलाकारको बलियो लाइनअप रहेको सिनेमाप्रति दर्शकमा उच्च अपेक्षा छ ।
खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी जस्ता स्थापित कलाकार तथा ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालको निर्देशन तथा उपन्यासकार बुद्धि सागरको लेखन कारण यो सिनेमा दर्शकको नजरमा पर्न सफल छ ।
घरेलु बक्स अफिसमा सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको सिनेमाको मल्टीप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुला भएको छ । सिनेमाले राम्रो संख्यामा शो पाएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले पहिलो दिनका लागि सिनेमालाई काठमाडौं उपत्यकामा २५ शो र उपत्यका बाहिर २२ शो गरी ४७ शो बाँडेको छ । दर्शकको आकर्षण अग्र्रीम टिकट बुकिङ राम्रो देखिएको खण्डमा शोमा थप वृद्धि हुनेछ ।
त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइले चार आउटलेटमा सिनेमालाई १५ शो, वान सिनेमाजले दुई आउटलेटमा ९ शो, बिग मुभिजले ५ शो, एफक्युबले ४ शो, कीर्तिपुर सिनेप्लेक्सले २ शो, बिएसआर मुभिजले ४ शो उपलब्ध गराएका छन् । काठमाडौं र मोफसलका अझै थुप्रै हलमा अग्रीम बुकिङ खुल्न बाँकी रहेकाले बिहीबारसम्म सिनेमाले देशभर करिब २ सय शो पाउने अपेक्षा निर्माण टिमको छ ।
यतिबेला निर्माण टिमले सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा फरक शैलीमा प्रचार प्रसार गरिरहेको छ । निश्चलदेखि केकीसम्मले काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा दर्शकसँग भलाकुसारी गर्दै सिनेमा हेर्न निम्तो दिएका छन् । यो शैलीमा नेपाली सिनेमाको प्रचार पहिलो पटक भएको हो । यो शैलीले सिनेमाप्रति दर्शकमा कौतुहलता सिर्जना गर्न ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ ।
काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्षको कथामा आधारित सिनेमामा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको पनि अभिनय रहेको छ । कृष्णबहादुर थापाको डीओपी रहेको सिनेमाको निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् । काठमाडौं उपत्यकामा एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्ट अनि मोफसलमा एफडी कम्पनिले वितरण गर्ने सिनेमाको कार्यकारी निर्मातामा युवराज कार्की छन् ।


प्रतिक्रिया