द सिनेमा टाइम्स, काठमाडौं । आर्यन सिग्देल नेपाली सिनेमामा ‘लभर ब्वाई’को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन् । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गरेका उनले थुप्रै लभस्टोरी सिनेमामा काम गरेका छन् । लभर ब्वाईको भूमिकामा देखिएका छन् । त्यसैले उनको छवि पनि यस्तै भयो ।
दर्शकले आर्यनलाई ‘लभर ब्वाई’मै रुचाए । त्यसैले निर्माता र निर्देशकले पनि यस्तै भूमिकामा प्रस्ताव गरे । त्यसैले उनको परिचय नै श‘लभर ब्वाई’को भयो । यसमै टाइपकास्ट भए ।
तर, लामो समयपछि आर्यनले आफूलाई एकै भूमिकामा सीमित गर्न चाहेनन् । त्यसैले उनले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गरे । जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शक सक्ड भए ।
‘नाइके’मा द्वन्द्वप्रधान भूमिका गरे । तर पनि उनले ‘लभर ब्वाई’को छवि मेट्न सकेनन् ।
‘मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन । तर, विविध कारणले त्यो सम्भव भएन । मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो किजस्तो पनि लाग्यो,’ उनले भनेका छन्, ‘तर विस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले । फलतः मेरो उपस्थिति ‘लभर ब्वाई’को रुपमा कम भयो ।’
उनलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन् । ‘गुड लुकिङ’ सँगै अभिनय गर्नसक्ने अभिनेता आर्यन बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो । केही वर्ष उनी पर्दाबाट टाढै रहे ।
गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पुजार सार्की’ पपछि उनको छवि फेरियो । ‘लभर ब्वाई’का रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहेका छन् । ‘मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याउनुभयो । अहिले म पात्रमा रमाउन थालेको छु,’ आर्यनले भने ।
पहिले फेरि फरक भूमिकामा आर्यन देखिँदैछन् । जेठ १५ गते ‘महाभोज’ रिलिज हुँदैछ । यसमा पनि ‘लभर ब्वाई’को रुपमा दर्शकले आर्यनलाई देख्ने छैनन् ।
दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘महाभोज’मा आर्यानसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायत कलाकारले अभिनय छ । सहकारीको रकम अपचलन यो सिनेमाको कथा हो ।


प्रतिक्रिया