द सिनेमा टाइम्स, नुवाकोट । सिनेमाप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका-४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’को औपचारिक उद्घाटन भएको छ ।
विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको कार्यक्रम अन्तर्गत नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका छन् ।
२४० सीट क्षमताको शिवालय सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी र पासाङ लामा गोपालको संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको हो ।
सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्च स्तरीय ध्वनि, वातानुकूलित हल, आरामदायी सिटहरू तथा अनलाइन बुकिङ सुविधा उपलब्ध छन् । प्रत्येक शनिबार चार शो र अन्य दिनहरूमा तीन शो प्रदर्शन गरिने जानकारी सञ्चालकहरूले दिएका छन् ।
शिवालय सिनेप्लेक्सले नेपाली सिनेमाको प्रवर्द्धनलाई प्राथमिकता दिने र मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा विशेष अतिथिको रूपमा विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ लगायत सिनेमाकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रतिक्रिया