द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री गरिमा शर्मा पहिलोपटक सिनेमाको मुख्य भूमिकामा रहेकाले केही प्रेसर फिल गरिरहेको बताएकी छिन् ।
यसअघि आफूले गरेका सिनेमामा मुख्य भूमिकामा अरु नै हुने गरेकाले प्रेसर फिल नहुने तर यसपटक आफैँ मुख्य भूमिकामा रहेकाले रिलिज नजकिँदै गर्दा दबाब महसुस गरिरहेको उनको भनाइ छ ।
गरिमा सिनेमा ‘जन्ते बाख्रो’मा मुख्य भूमिकामा छिन् । अभिनेता सौगात मल्लको अपोजिटमा छिन् । आइतबार पत्रकार अन्तरक्रियामा उनले भनिन्, ‘यो पटक सौगात दाइ, आसिफ दाइ र म मुख्य भूमिकामा छौँ ।’
सौगातले विवाह दुलही खोज्दै गरिमाकोमा पुग्ने सिनेमाको कथा छ । यही सन्दर्भमा उनी भन्छिन्, ‘सिनेमा मेरै वरिपरि घुम्छ । त्यसैले यो पटक प्रेसर फिल भइरहेको छ ।
‘जन्ते बाख्रो’ आफ्नै लागि बनेको सिनेमा भएको उनको भनाइ छ । गरिमालाई भेटेपछि उनलाई भन्दा पनि आफू बढी कन्फिडेन्स भएको निर्देशकले बताएपछि उनले भनिन्, ‘म गर्न सक्छु कि सक्दिन भन्ने थियो, किन भने पहिलोपटक मुख्य भूमिकामा थिएँ । तर, निर्देशकले होइन तिमी गर्न सक्छौ भनिरहनु भएको थियो । त्यसैले मलाई लाग्यो यो सिनेमा मेरै लागि बनेको हो ।’
‘जन्ते बाख्रो’ले नै आफूलाई विदेश जानबाट रोकेको पनि उनले बताइन् । ब्याचलर्स सकेपछि अब विदेश जाने कि के गर्ने भनेर सोचिरहेका बेला ‘जन्ते बाख्रो’बाट अफर आएपछि आफू विदेश नगएको उनले बताइन् ।
सिमोस सुनुवारको निर्देशन रहेको सिनेमा ‘जन्ते बाख्रो’ यही जेठ २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
‘जन्ते बाख्रो’मा गरिमा शर्मा, सौगात मल्ल, आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतमलगायत छन् ।
प्रदीप भारद्वाजले देखेको सिनेमाका निर्माता सन्तोष गौतम हुन् ।
सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनील शिवभक्तिको सम्पादन रहेको छ ।
टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।


प्रतिक्रिया