‘सोल्टिनी’को पूर्वेली मारुनी भाका ‘सत्य जुगैको’ सार्वजनिक

‘सोल्टिनी’को पूर्वेली मारुनी भाका ‘सत्य जुगैको’ सार्वजनिक

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सुपत र अभिनेत्री परिक्षा लिम्बुको मुख्य भूमिका रहेको सिनेमा ‘सोल्टिनी’को गीत सार्वजनिक गरिएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको हो ।

पूर्वेली मारुनी भाकामा आधारित गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको संगीत तथा शब्द प्रशान्त सिवाकोटीले नै सिर्जना गरेका हुन् । भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा प्रकाश र परीक्षासहित कलाकार सुन्दर धिताल र सब्बु गुरुङले नृत्य गरेका छन् ।

सार्वजनिक गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । करिब ७/८ वर्षपछि नेपाली सिनेमामा मारुनी गीत समावेश भएको छ । जसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा लिएको सिनेमाका निर्देशक अर्जुन सुवेदीले बताए । यो सिनेमा इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरीमा छायांकन गरिएको छ ।

निर्देशक सुवेदीका अनुसार सिनेमाले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ । सिनेमाले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने छ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ । प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलो पटक एकसाथ सिनेमाको पर्दामा देखिँदैछ ।

सिनेमामा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतका कलाकारको अभिनय छ । सिनेमाका गीतमा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेत तथा छायांकन सुशन प्रजापतिले गरेका हुन् । सिनेमालाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।

प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको सिनेमालाई आरआर फिल्मस् प्रालिले नेपालमा वितरण गर्नेछ । सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।