द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार जुन ६ अर्थात् जेठ २३ गतेबाट विश्वव्यापी प्रदर्शनमा आएको बलिउड सिनेमा ‘हाउसफुल ५’ले पहिलो सप्ताहन्तमा राम्रो कमाई गरेको छ । पहिलो दिनदेखि नै अपेक्षाभन्दा राम्रो कमाई गरेको सिनेमाले प्रदर्शनको दिनदेखि नै हलमा ठुलो भीड बटुल्न सफल देखिएको हो । जसको प्रभाव सिनेमाको बक्सअफिस कलेक्सनमा देखिएको छ ।
यस वर्ष बलिउडको लागि दोस्रो सबैभन्दा ठुलो ओपनिङ गरेको ‘हाउसफुल ५’को असली परीक्षा सोमबारबाट वीक डेजबाट सुरु हुने मानिएको थियो । त्यो परिक्षामा समेत ‘हाउसफुल ५’ सफल भएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्श बताउँछन् । सुरुवाती ४ दिनमा नै यो सिनेमाले एक सय करोड बक्सअफिस कलेक्सन गरेको थियो ।
पहिलो दिन शुक्रबार २४ करोड बढीको कलेक्सन गरेको ‘हाउसफुल ५’ले शनिबार ३२ करोड ३८ लाख र आइतबार ३५ करोड भारुभन्दा बढीको बक्सअफिस कलेक्सन गरेको छ । सिनेमाको पहिलो सप्ताहान्तको कुल कमाई ९१ करोड ८३ लाख भारु थियो । ‘हाउसफुल ५’ले बक्सअफिसमा पहिलो सोमबार लगभग १३ करोड १५ लाख र मंगलबार ११ करोड ७५ लाख भारु कमाएको छ ।
शुक्रबारको तुलनामा सोमबार सिनेमाको कमाई आधा नघटेपनि मंगलबार भने आधाभन्दा केही तल छ । मंगलबाको कमाईसँगै ‘हाउसफुल ५’ले बक्स अफिसमा ११६ करोड ६८ लाख कमाई गरेको छ । बक्सअफिसमा १०० करोडको आँकडा पार गर्ने यो बलिउड अभिनेता अक्षय कुमारको १८ औं सिनेमा बनेको छ ।
सुरुवाती ५ दिनमा ११६ करोडको बक्सअफिस कलेक्सन गरेको सिनेमाले पहिलो हप्तामा लगभग १३० करोडको आँकडामा पुग्ने संकेत गर्छ । दोस्रो सप्ताहान्तमा समेत ‘हाउसफुल ५’ले आक्रामक व्यापार गर्ने विश्वास निर्माण टिमको छ । दोस्रो हप्तामा लगभग २०० करोड भारु व्यापार गर्न सक्ने रिपोर्ट बलिउड ट्रेड एक्सपर्टको छ ।
तरूण मनसुखानी निर्देशित ‘हाउसफुल ५’मा अक्षय कुमारसहित अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डे, सञ्जय दत्त, नाना पाटेकर, ज्याकी श्राफलगायत कलाकारहरूको अभिनय छ । सिनेमाको निर्माता साजिद नाडियाडवाला हुन् ।


प्रतिक्रिया