राम चरणले निर्माण गरिरहेको सिनेमा ‘द इन्डिया हाउस’को छायांकन सेटमा दुर्घटना

राम चरणले निर्माण गरिरहेको सिनेमा ‘द इन्डिया हाउस’को छायांकन सेटमा दुर्घटना

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारती सिनेमाका सुपरस्टार राम चरणले सिनेमा निर्माणमा हात हालेका छन् । उनले २०२३ मा वी मेगा पिक्चर्सको व्यानर सञ्चालनमा ल्याएर सिनेमा निर्माणको घोषणा गरेका थिए । उनको लगानी रहने सिनेमाको नाम ‘द इन्डिया हाउस’को राखिएको छ ।

यो सिनेमामा दक्षिण भारतीय सिनेमाका अर्का अभिनेता निखिल सिदार्थले मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । यो सिनेमाको हाल दक्षिण भारतको हैदरावादमा छायांकन भैरहेको थियो । सिनेमाको छायांकन चलिरहँदा सेटमा दुर्घटना भएको छ । सिनेमाको छायांकन सेटमा रहेको पानीको ट्याङ्की फुटेर बाढीको अवस्था सिर्जना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सिनेमाको सेटमा भएका सबै सामग्री नष्ट भएका छन् । यो दुर्घटना पानी प्रयोग गर्ने एक्सन दृश्यको छायांकनको क्रममा भएको हो । पानीको ट्याङ्की फुटेपछि हजारौं लिटर पानी सुटिङ फ्लोरमा पोखियो । दुर्घटनाका कारण ‘द इन्डिया हाउस’को सम्पूर्ण सेट डुबेको देखिन्छ । छायांकन सेटमा रहेका उपकरणमा धेरै क्षति भएको छ । घटनामा एक सहायक कोरियोग्राफर र अन्य केही क्रु मेम्बर पनि घाइते छन् । घाइतलाई अस्पताल लगिएको छ ।

छायांकन सेटमा दुर्घटना भएपछि अहिलेलाई सिनेमाको छायांकन समेत रोकिएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सेटमा पानी पसेपछि क्यामेरा र उपकरणहरू बचाउने प्रयास गरिरहेको देखिएको छ । क्लिपमा सम्पूर्ण सेट पनि पानीमा डुबेको देखिएको छ । यो सिनेमा राम चरणले अभिषेक अग्रवाल आर्ट्ससँग मिलेर निर्माण गरिरहेका छन् । यो सिनेमालाई रामवंशी कृष्णले निर्देशन गरिरहेका छन् ।