द सिनेमा टाइम्स, काठमाडौं । यतिवेला सिनेमा ‘ऊनको स्वीटर’ प्रदर्शनको ३८ औं दिनमा सफलताका साथ चलिरहेको छ । यो सिनेमाका सम्पूर्ण गीतहरू दर्शकमाझ चर्चामा छन् । सिनेमामा समावेश सवै गीत युट्युबमा करोड क्लबमा प्रवेश गर्न सफल भएका हुन् ।
सांगीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्वम नै सुपरहिट सावित भएको छ । हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज पाएसँगै यो माइलस्टोन हाँसिल भएको हो । यो समाचार तयार पार्दासम्म ‘फूलहरू मुस्काउँछन्’ २ करोड १० लाख (२१ मिलियन) भ्यूज, ‘मखमली’ १ करोड ३० लाख (१३ मिलियन) भ्यूज, ‘काफ्ले’ १ करोड ३० लाख (१३ मिलियन) भ्यूज र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड (१० मिलियन) भ्यूज प्राप्त गरेका छन् ।
सिनेमा निर्माण कम्पनि आर्टमाण्डु परिवारले यो सफलताप्रति दर्शक तथा श्रोताको उच्च साथ रहेको भन्दै हार्दिक कृतज्ञता व्यक्त गरेको छ । ‘नेपाली सिनेमाले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौं,’ आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ । यो सफलताले आगामी दिनका लागि दवावर चुनौती थपेको पनि आर्टमाण्डुले जनाएको छ ।
सिनेमाका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा सिनेमाहरू निर्माण गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘ऊनको स्वीटर’ यो वर्षको पहिलो सुपरहिट सिनेमा बन्न सफल भइसकेको छ । यो सिनेमा हाल नेपाल तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वका विभिन्न देशहरूमा प्रदर्शन भइरहेको छ ।
सिनेमामा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।


प्रतिक्रिया