द सिनेमा टाइम्स, काठमाडौं । मुकेश कुमार सिंहको निर्देशनमा निर्माण भएको दक्षिण भारतीय सिनेमा ‘कन्नप्पा’को ट्रेलर सार्वजनिक गरिएको छ । बलिउड र दक्षिण भारतका ठूला स्टारहरुको अभिनय रहेको सिनेमाको तीन मिनेट लामो ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एउटा नास्तिक कसरी भगवान् शिवको भक्त हुन्छ भन्ने कथामा सिनेमा आधारित रहेको सार्वजनिक ट्रेलरबाट बुझिन्छ ।
एक आक्रमणकारी समुहबाट वायुलिंग र गाउँलेलाई बचाउन एक पात्रले गरेको संघर्ष ट्रेलरमा देखाइएको छ । सिनेमाको ट्रेलरमा अभिनेता अक्षय कुमारलाई भगवान् शिवको रुपमा देख्न सकिन्छ । अभिनेत्री काजल अग्रवाल पार्वती (महादेवकी पत्नी)को भूमिकामा छिन् ।
ट्रेलरमा बाहुबली अभिनेता प्रभास रुद्र पात्रको भूमिकामा देखिएका छन् । कट्टर नास्तिकलाई आफ्नो सबैभन्दा ठूलो भक्त बनाउन भगवान् शिवले रुद्रलाई पठाएको सार्वननिक ट्रेलरमा देख्न सकिन्छ ।
दक्षिण भारतीय सिनेमा ‘कन्नप्पा’मा अक्षय, प्रभास र काजलसहित विष्णु मान्चू, मोहन बाबू, मोहनलाल, ब्रह्मानन्दम, शरत कुमार, अर्पित रांका, सप्तगिरी, मुकेश ऋषि, मधुबाला, ऐश्वर्या भास्करन, ब्रह्माजी, देवराज लगायतको अभिनय छ । सिनेमाको सार्वजनिक ट्रेलर हेर्दा दक्षिण भारतीय अभिनेता विष्णु मान्चूमा केन्द्रित रहेको देखिन्छ । उनी नै कट्टर नास्तिकबाट शिवको ठूलो भक्त बनेको देख्न सकिन्छ ।
करिब २ सय करोड भारुमा निर्माण भएको सिनेमा ‘कन्नप्पा’ आगामी जुन २७ तारिख अर्थात् असार १३ गतेबाट विश्वव्यापा प्रदर्शनमा आउँदैछ । हिन्दीसहित तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा निर्माण भएको सिनेमाको निर्माता मोहन बाबू हुन् ।
बलिउड सहित दक्षिण भारतीय सिनेमाका नाम चलेका कलाकारको बलियो लाइनअप रहेको सिनेमा ‘कन्नप्पा’ले यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्न सक्ने प्रक्षेपण भारतीय सिनेमाका ट्रेड एनालिस्टहरुको छ ।


प्रतिक्रिया