‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक

‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा शरद हुमागाईं र विशाखा शाहीको स्वर छ । सिनेमाको यो रोमान्टिक गीतमा प्रमोद ढुंगानाको शब्द रचना तथा सुरेश अधिकारीको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री नीति शाह फिचर्ड छन् । गीतको सार्वजनिक भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ । चुम्बन जंग शाही सिनेमाका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमालाई फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको हो ।

सिनेमामा पल र नीतिसहित अर्जुन जंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल-कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

सिनेमाको गीत रिलिज कार्यक्रममा बोल्दै पलले यो गीतको भिडियो छायांकनका क्रममा निकै नै दुःख भएपनि गीत तयार भएर आएपछि खुशी लागेको बताए । आफूले पहिलो पटक कुनै गीतको भिडियोमा काम गर्दा ‘म सक्दिनँ है’ भनेको अनुभव पल शाहले सुनाए ।

अभिनेत्री नीति शाहले पनि गीतको छायांकनका क्रममा सबैको मेहनत परेको भन्दै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सुनाइन् । सिनेमाका निर्देशक ओम प्रतिकले मोहरले देउकी प्रथासँगै अन्य थुप्रै सस्पेन्स कुराहरुलाई समेत देखाएको भन्दै दर्शकले केही फरक कथा हेर्न पाउने बताए । निर्माता चुम्बन जंग शाहीले आफू सानैबाट सिनेमाको माहोलमा हुर्किएको भन्दै त्यही कुराले तानेर निर्माणमा आएको खुलाए ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन् ।

रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो सिनेमाको वितरण गर्नेछन् । समिर मियाको भीएफएक्स रहेको सिनेमामा सत्यम रानाको सीजीआई, लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइन छ । रोशन जंग शाही सिनेमाका लाइन प्रोड्यूसर हुन् ।