द सिनेमा टाइम्स, काठमाडौं । शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको लघु सिनेमा ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ।
‘खाली बोतलहरू, खाली कागजहरू’ उपशीर्षक सहित सार्वजनिक भएको यो सिनेमाले वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ ।
सिनेमामा वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंह, अफ्शान पन्थी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ भने रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनयमा साथ दिएका छन् ।
प्रवेश गर्दै गरेको अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन र सशक्त संवादले सिनेमालाई दर्शकहरूका लागि प्रभावशाली बनाएको छ। यो सिनेमाले दर्शकलाई आत्म विश्लेषण गर्न बाध्य पार्ने भावनात्मक सन्देश दिन खोजेको छ।
प्राविधिक पक्षमा किरण श्रेष्ठ, सन्दीप श्रेष्ठ (सम्पादन), निराजन सेंधाइ (छायाङ्कन), बिपिन स्थापित (साउन्ड डिजाइन), राजेन्द्र मोक्तान (रङ्ग संयोजन) तथा रोमन बज्राचार्य (पाश्वर्य सङ्गीत) लगायतको भूमिका उल्लेखनीय रहेको छ।
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति ‘खाली सिसी नयाँ कागज’ शर्ट सिनेमा कम्पिटिसनमा पर्न सफल भएको लघु सिनेमा हो, सो सिनेमा म्युजिक नेपाल इन्टरटेन्मेन्ट च्यानलबाट हेर्न सकिन्छ ।


प्रतिक्रिया