‘जनै हराएको मान्छे’मा मनिषले अभिनय छोडेर किन निर्देशन रोजे ?

‘जनै हराएको मान्छे’मा मनिषले अभिनय छोडेर किन निर्देशन रोजे ?

द सिनेमा टाइम्स
644
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । यो सिनेमाबाट ‘प्रेमगीत ३’ फेम्ड अभिनेता मनिष राउत निर्देशनमा पाइला चाल्दै छन् । सर्वकालिन ब्दकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको सिनेमाको एसोसिएट निर्देशक हुन् मनिष राउत ।

सुरुवातामा मनिष यो सिनेमामा मुख्य अभिनेतामा अभिनय गर्ने तयारीमा समेत थिए । सिनेमा छायांकनमा जानु केही दिन अगाडी मात्रै आफ्नो भूमिका अभिनेता सशांक मैनालीलाई दिएर उनी सिनेमामा एसोसियट निर्देशकको रुपमा मात्रै काम गरेका थिए । यो सिनेमामा उनलाई दर्शकले अभिनेताका रूपमा देख्न पाउने छैनन् । मनिष सिनेमा पढेका अभिनेता हुन् । पढेर सिने करियरमा होमिएका उनले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’मा किन अभिनय गरेनन् ?

‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशनैसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो,’ मनिष भन्छन्, ‘म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।’

मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’मा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रष्ट पारेका छन् । हरेक अभिनेताको अन्तिम इच्छा निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताउँछन् ।

आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले जानकारी दिए । कलाकार बलियो लाइनअप रहेको सिनेमामा विजय बरालसहित भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने तथा कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।