प्रमोद र नीता अभिनित ‘रियाल रिङ्गेट’को ओएसटी सार्वजनिक

प्रमोद र नीता अभिनित ‘रियाल रिङ्गेट’को ओएसटी सार्वजनिक

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १६ गते प्रदर्शनमा आउने सिनेमा ‘रियाल रिङ्गेट’को ओएसटी गीत सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको हो ।

रेबेल फिल्मस्द्वारा निर्मित सिनेमाको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ । रवि मल्ल र कोशिस क्षेत्रीको शब्द रचनामा चन्दन ध्वज केसी र किरण तुलाधरले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ । यो गीतलाई किरण तुलाधरले एरेन्ज गरेका हुन् । गीतले विदेशमा नेपालीले भोग्ने संघर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेशिनुको पीडालाई प्रस्तुत गरेको छ ।

सिनेमाको गीत कार्यक्रममा कवि नाथन रायनले आफ्नो कविता वाचन गरेका थिए । जहाँ मामुली मजदुरका रूपमा विदेशिन बाध्य नेपालीहरूको मार्मिक भावना पोखिएको छ । कवि रायनका शब्दले ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो’ ट्यागलाइनको मर्मलाई सशक्त रूपमा चित्रण गर्दछ ।

सिनेमाको गीत रिलिज कार्यक्रममा बोल्दै सिनेमाका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’हरेक नेपालीको कथा भएको बताए । यो सिनेमाले आम दर्शकको मन छुन सफल हुने विश्वास समेत व्यक्त गरेका थिए । निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनै पर्ने भएकोले यसमा लगानी गरेको बताए ।

अभिनेत्री निता ढुंगानाले लामो समयको मिहिनेतपछि सिनेमा रिलिजको संघारमा पुगेकोमा खुसी व्यक्त गरिन् । यता मुख्य अभिनेता प्रमोद चौलागाईंले निकै सोच विचार गरेर मात्र यो सिनेमामा अभिनय गरेको बताए ।

विभोर पोखरेलको निर्देशनमा निर्माण भएको सिनेमामा प्रमोद चौलागाईं, निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी, रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत, सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर, अमर न्यौपाने, रवि मल्ल, कोशिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीको शब्द रचना छ ।

भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायांकन गरिएको सिनेमालाई काफिया फिल्म्सले वितरण गर्दैछ ।

यो सिनेमाको गीत रिलिज कार्यक्रमका बीचमा निर्माण टिमले दुःखद खबर सार्वजनिक गरेको थियो । यो सिनेमाकी कलाकार अनिशा सदा जनकपुर क्षेत्रको स्थानीय सिनेमाको छायांकन स्थलमा मृत भेटिएको जानकारी गराउँदै सदाप्रति कार्यक्रममा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।