द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘हली’को पहिलो गीत ‘चानस पाए त’ सार्वजनिक गरिएको छ । संगीतकार बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको गीत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सिनेमाको प्रमोसनल गीतमा जस्मिन श्रेष्ठको शब्द रचना तथा गायक गिरी स्वयंको संगीत रहेको छ ।
सिनेमाको गीत रिलिज कार्यक्रममा निर्मात्री जस्मिन श्रेष्ठले एउटा हलीको कथामा सिनेमा निर्माण गरिएको जानकारी दिइन् । उनका अनुसार देशमा परिवर्तन ल्याउन एउटा हली नै काफी रहेको सन्देश सिनेमाले दिनेछ । सिनेमा ‘हली’को प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्मात्री श्रेष्ठले बताएकी छन् ।
असार महिनाको विशेषता अनुरुप खेत रोपाईको सेटअपमा तयार पारिएको गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता प्रमोद दीपसहित कलाकारहरु दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा फिचर्ड छन् । कोरियोग्राफर कविराज गहतराजले कलाकारहरुलाई हिलो खेतमा नचाएका छन् । सिनेमाको सार्वननिक गीतको भिडियोमा अभिनेता दीलिप रायमाझि र अभिनेत्री प्रियंका कार्कीको नृत्यले दर्शकको ध्यान खिच्ने देखिन्छ ।
हालसम्म प्रदर्शन मिति घोषणा नगरिएको सिनेमामा प्रमोद दीपसहित सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी लगायतको अभिनय रहेको छ । यो सिनेमामा पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी छ ।
वास्तविक जीवनका घटनाहरुबाट प्रेरित भनिएको सिनेमामा नम्रता भण्डारी सह-निर्मातामा छिन् । अर्जुन भुसाल कार्यकारी निर्माता रहेको सिनेमामा राहुल राईको छायांकन, शम्भुजित बाँस्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ ।


प्रतिक्रिया