द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता अमिर खान अवार्ड समारोहमा उपस्थित हुँदैनन् । यद्यपि उनी करियरको सुरुवाती दिनहरूमा २/४ पटक पुरस्कार समारोहमा उपस्थित भएका थिए । एक दिन यस्तो आयो कि जब आमिर सिनेमाका अवार्ड समारोहबाट नै टाढा रहन पुगे ।
बलिउड मिडियाको अवार्ड समारोहमा नहुनुको पछाडिको कारण के थियो ? भन्ने प्रश्नमा अमिरले लविङ र पक्षपातका कारण पुरस्कार समारोहमा जान छोडेको बलिउड मिडियासँग बताएका छन् । ‘जब म भर्खरै बलिउडमा आएको थिएँ, म दुई/तीन वर्षसम्म पुरस्कार समारोहमा जान्थेँ । मलाई लाग्थ्यो कि हामी सवै वर्षमा एक वा दुई पटक भेट्छौं । हामी एकअर्काको कामको कदर गर्छौं । म यही भावना लिएर पुरस्कार समारोहमा जान्थेँ । त्यसपछि मैले बुझें कि यहाँ अरू केही कुराहरू भइरहेका छन्,’ उनले भने ।
अवार्ड कार्यक्रममा के भइरहेको थियो भनेर सोध्दा अमिर पहिले हाँसे, त्यसपछि अलि हिचकिचाहट र घुमाउरो तरिकाले कारण सुनाए । भारतका हामी सवै भावुक मानिस हौं । म बुझ्छु कि हामी प्रायः कामलाई धेरै महत्त्व दिँदैनौं । तर हामी त्यो काम गर्ने व्यक्तिलाई महत्त्व दिन्छौं । त्यो व्यक्ति हाम्रो लागि ठूलो बन्छ । हामी मानिसहरूको बारेमा सोच्न थाल्छौं र काम बिर्सन्छौं । मेरो बुझाई अनुसार तुलना गर्न धेरै गाह्रो छ ।
अमिरले भने, ‘तपाईंले ‘दंगल’मा मेरो काम हेर्नुभयो भने, ‘बजरंगी भाईजान’मा सलमानको काम हेर्नुभयो भने, ‘दृश्यम’मा अजय देवगनको काम हेर्नुभयो भने । तीन फरक कथाहरू छन् । तपाईं तिनीहरूलाई कसरी तुलना गर्न सक्नुहुन्छ ? यदि तपाईं साँच्चै तुलना गर्न चाहनुहुन्छ भने, म, सलमान र शाहरुखसँग ‘३ इडियट्स’ बनाउनुहोस् । अरू सबै कुरा उस्तै हुनुपर्छ । कलाकारहरू फरक हुनुपर्छ । त्यसपछि तपाईं हामी तीनै जनाको कामको मूल्याङ्कन गर्न सक्नुहुन्छ । त्यसैले बलिउड प्रवेशको केही समयपछि अवार्ड समारोहमा मेरो रुचि हरायो । त्यसैले म अवार्ड कार्यक्रमबाट टाढा गएँ । जसको लागि म सिनेमा बनाउँछु, मेरा दर्शकहरूले मलाई भन्छन् कि मैले राम्रो सिनेमा बनाएको छु कि छैन ।’
के कहिल्यै अमिरले कुनै अवार्डको अपेक्षा गरेका थिए तर जब पाएनन्, अनि दूरी कायम गरे ? यसको जवाफमा आमिरले भने, ‘मलाई मेरो क्षतिले दुखित बनाएको छैन, तर मलाई धेरै कुराहरूले दुखित बनाएको थियो । वास्तवमा अवार्ड समारोह जुन भावनाले हुनुपर्ने हो, त्यसरी आयोजना गरिँदैन । उत्कृष्ट सहायक अभिनेता जस्तै । अब पाँच जनाको नाम मनोनयनमा परेको छ । तीमध्ये एकले धेरै राम्रो काम गरेको छन् । तर उनी नयाँ मान्छे हुन् । अन्य दुई/तीन जना कलाकार धेरै प्रसिद्ध छन् । उनीहरूलाई धेरै सम्मान पनि गरिन्छ । के हुन्छ भने मानिसहरूले अर्को वर्ष पनि उनी नै जित्नेछन् भन्ने सोच्छन् । तर हामी कसरी पुरानो अभिनेतालाई पुरस्कार नदिन सक्छौं ? मलाई लाग्छ तपाईंले त्यो व्यक्तिलाई हटाउनु पर्छ । कसको काम राम्रो छ भन्नुहोस् । तपाईं कामको लागि पुरस्कार दिइरहनुभएको छ । व्यक्तिको लागि होइन् । त्यहाँ यस्तो हुँदैन ।
अवार्डको कुरा गर्दा, अमिरलाई २००३ मा पद्मश्री र २०१० मा पद्मभूषणबाट सम्मानित गरिएको छ । उनले आफ्नो डेव्यू सिनेमा ‘कयामत से कयामत तक’को लागि सर्वश्रेष्ठ डेव्यु अभिनेताको फिल्मफेयर अवार्ड जितेका छन् । अमिरको मुख्य भूमिका रहेको सिनेमा ‘सितारे जमिन पर’ अहिले विश्वव्यापी प्रदर्शन भैरहेको छ । यसपछि उनको विशेष भूमिका रहेको सिनेमा ‘कुली’ अगस्ट १४ मा रिलिज हुनेछ । यी दुई सिनेमापछि अमिर राजकुमार हिरानीले निर्देशन गर्ने दादा साहेब फाल्केको वायोपिकमा काम गर्ने तयारीमा छन् ।


प्रतिक्रिया