द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रमोद चौलागाईको मुख्य भूमिका रहेको सिनेमा ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । आगामी साउन १६ गते प्रदर्शनमा आउने सिनेमाले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको सार्वजनिक गीतको बोल र भावमा पनि झल्कन्छ ।
सार्वजनिक गीतमा प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर रहेको गीतमा प्रदीप भारद्वाजको शब्द रचना तथा रामचन्द्र काफ्लेको संगीत रहेको छ । गीत भिडियोमा प्रमोद र निताको नृत्य देख्न सकिन्छ ।
गीतको बोलले नै केटी पक्षबाट ज्वाइँको रूपमा विदेशमा कमाउने केटाको अपेक्षा रहेको स्पष्ट पार्छ । निता ढुंगानाले गीतमा आफ्ना बुवाले विदेशमा कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन् । यसको प्रत्युत्तरमा प्रमोदले आफू पनि विदेश जाने तयारी गरिरहेको कुरा गरेका छन् । यो गीतले प्रमोद र निता दुवैका पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ परिचित गराउन मद्दत गर्छ ।
विभोर पोखरेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रमोद र नीतासहित छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।
रिबेल फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमा गगनलाल प्रधानको लगानी छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको सिनेमाका गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत छ । सिनेमाको छायांकन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । यो सिनेमालाई काफिया फिल्मस्ले वितरण गर्नेछ ।


प्रतिक्रिया