‘यो मन त मेरो नेपाली हो’ नेपाली भाषा र संस्कृति जोगाउने अभियान हो : निर्देशक नर प्रधान

‘यो मन त मेरो नेपाली हो’ नेपाली भाषा र संस्कृति जोगाउने अभियान हो : निर्देशक नर प्रधान

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’बाट नर प्रधान (मित्र)ले निर्देशनमा डेव्यु गरेका छन् । यो सिनेमा कथाबाट उनले नेपाली भाषा, कला, संस्कृति जोगाउनुपर्ने विषयवस्तु उठाएका हुन् । यो विषयमा सिनेमा निर्माण गर्ने सोच नेपालबाट अमेरिका पुगेपछि आएको उनी बताउँछन् । जसको मुख्य कारण थियो, अमेरिकाको व्यस्त जीवनले गर्दा नेपाली संस्कार र संस्कृतिसँग दूरी बढ्नु ।

निर्देशक प्रधान भन्छन्, ‘म राजनीतिक कारणले भुटानबाट नेपाल आएको थिएँ । मेरो पढाई, लेखाइ र हुर्काइ नेपालमै भयो । भुटानमा हुँदा गाउँ पूरै नेपाली थियो । संस्कार, संस्कृति सबै नेपाली नै मानिन्थ्यो । नेपाल आएपछि त्यो झनै गहिरो बन्यो । तर, अमेरिका पुगेपछि व्यस्तताले गर्दा त्यो सम्बन्धमा दूरी महसुस भयो । त्यसले ममा नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नुपर्ने भोक जागृत गरायो ।

नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति र संस्कारबारे जानकारी नगराए यो धरोहर मासिने चिन्ताले ‘यो मन त मेरो नेपाली हो’ बनाएको निर्देशक प्रधानको दाबी छ । ‘विदेशमा रहेपनि, जति दुःख भोगे पनि, यो पक्ष जोगाउनुपर्छ । यदि यो मेटियो भने हाम्रा पूर्खाहरुको आत्माले शान्ति पाउँदैन र अबको पुस्ताले यसको मूल्य बुझ्न सक्दैन । यसैले हामीले यो सिनेमा बनाएका हौं,’ उनले भने ।

डेव्यु निर्देशक नर प्रधान (मित्र)ले ‘यो मन त मेरो नेपाली हो’लाई नेपाली भाषा र संस्कृति जोगाउने अभियानको रुपमा लिएका छन् । ‘यो एउटा अभियान हो । नेपाल र संसारका विभिन्न ठाउँमा पुगेका नेपालीहरूको आस्था र विश्वासको धरोहर हो,’ उनी अगाडि भन्छन्, ‘हाम्रा पूर्खाहरूले संरक्षण गरेको भाषा, धर्म, संस्कार, संस्कृति, भेष–भुषा आदिलाई हामीले अबको पुस्तालाई सुम्पिनुपर्छ भन्ने सोचले यो सिनेमा बनाएका हौं ।’

सिनेमाको गत साता सार्वजनिक ट्रेलरमा भुटानी शासकबाट लखेटिएका भुटानीहरुको कथा पनि देख्न सकिन्छ । यसबारेमा निर्देशक प्रधान भन्छन्, ‘यो सिनेमा भुटानी नेपाली पनि हो, किनभने नेपालबाट भुटान, बर्मा लगायत विभिन्न ठाउँमा नेपालीहरू पुगेका थिए । यसले संसारभरका नेपालीहरूलाई समेट्ने प्रयास गरेको छ । यसमा भुटानी नेपालीको प्रसंग विशेष रूपमा उठाइएको छ ।’

‘यो मन त मेरो नेपाली हो’ व्यावसायिक उद्देश्यले नबनाएको पनि निर्देशक प्रधानले स्पष्ट पारेका छन् । उनका अनुसार सन्देश दिनका लागि यो सिनेमा निर्माण गरिएको हो । ‘म सिनेमाको माध्यमबाट सन्देश दिन चाहन्थेँ, त्यसैले यो विषय रोजेँ । व्यावसायिक हिसाबले मात्र हेरेको भए यो सिनेमा बनाउँदिन थिएँ । विदेशमा भएपनि हाम्रो नेपाली मनले केही गर्नुपर्छ भन्ने सन्देश दिन यो सिनेमा बनाएको हुँ,’ उनले भने ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमालाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । सिनेमामा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतको अभिनय छ ।

सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिष शाहको सम्पादन रहेको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको सिनेमामा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।