लोकेश कनगराज निर्देशित ‘कुली’बाट अमिर खानको ‘दाहा’ लुक्स सार्वजनिक

लोकेश कनगराज निर्देशित ‘कुली’बाट अमिर खानको ‘दाहा’ लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तमिल सुपरस्टार रजनीकान्त अभिनित सिनेमा ‘कुली’बाट अमिर खानको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । यो सिनेमामा अमिर बिशेष भूमिकामा देखिनेछन् । सिनेमामा उनको पात्रको नाम ‘दाहा’ हो । जसले सिनेमामा रजनीकान्तसँग भिड्नेछन् । सिनेमामा आमिरको १५ मिनेटको भूमिका हुनेछ ।

सिनेमा निर्माताको दाबी यो १५ मिनेटले सिनेमालाई ठूलो मोड दिनेछ । आमिरको जुन पोस्टर सार्वजनिक भएको छ । त्यसमा आमिरलाई पाइपवाला सिगार पिउँदै गरेको देखिन्छ । यो पोस्टर पनि सिनेमाका बाँकी पोस्टर र टिजर जस्तै मोनोक्रोममा छ । सुनको भाग मात्र रंगीन देखाइएको छ । सिनेमाको कथा सुन तस्करीमा आधारित छ ।

सिनेमाबाट आमिरको लुक्स सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । फ्यानहरूले उनलाई मास, ओजी भिलेन र बिस्ट भनेर बोलाइरहेका छन् । आमिरको फ्यान पेजसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि उनको लुक्समा विभिन्न टिप्पणी गरिरहेका छन् ।

यो सिनेमा बलिउडको प्रतिक्षित सिनेमा वार २ सँग बक्सअफिसमा भिड्दै छ । यी दुई सिनेमा एकसाथ भिड्ने भएपछि हालै, ‘वार २’का निर्माताले ‘कुली’लाई रोक्न आइम्याक्सका स्क्रिनहरू कब्जा गरेको खबर सार्वजनिक भएका थिए । सन पिक्चर्सले आमिरको यो लुक्स सार्वजनिक गर्दै आफुहरु कमजोर नरहेको संकेत गरेका छन् ।

लोकेश कनगराज निर्देशित ‘कुली’ पनि विश्वभरका आइम्याक्स स्क्रिनमा रिलिज जानकारी दिइएको छ । ‘कुली’बाट अमिरको लुक्स सार्वजनिक गर्दै निर्माताले ‘वार २’लाई चुनौती दिएको चर्चा बलिउड मिडियामा भैरहेको छ ।

तमिल मिडियाका अनुसार ‘कुली’मा आमिर र रजनीकान्तको उत्कृष्ट एक्सन दृश्यहरू समावेश छन् । यद्यपि, ७४ वर्षीय रजनीकान्तले धेरैजसो एक्सन दृश्यहरूको लागि बडी डबल प्रयोग गरेका छन् ।

रजनीकान्तले ‘कुली’को छायांकनको लागि ७० दिन दिएका थिए । यी ७० दिनमध्ये ४५ दिनको छायांकनमा बडी डबलले गरेको चर्चा तमिल मिडियामा छ । शारीरिक रूपमा गाह्रो हुने दृश्यलाई बडी डबलले छायांकन गरेका थिए । यो सिनेमा १४ अगस्टमा विश्वव्यापी रिलिज हुँदैछ ।