पौषमा रिलिज हुने साइन्स फिक्सन ‘एक्लो’को भिडियो पोस्टर सार्वजनिक

पौषमा रिलिज हुने साइन्स फिक्सन ‘एक्लो’को भिडियो पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको साइन्स फिक्सन सिनेमा ‘एक्लो’को भिडियो पोस्टर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक भिडियो पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । भिडियोमा सिनेमा डिसेम्बर अर्थात् आगामी पौषमा रिलिज हुने बताइएको छ । तर, कुन मितिमा प्रदर्शन हुनेछ भन्ने खुलाइएको छैन् ।

सार्वजनिक भिडियोमा सिनेमाका कलाकारहरु प्रदीप खड्का, बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह ठकुरी, कविता नेपाली, एवन राज उप्रेती र बेलायती अभिनेता जेमी बेकन क्यारेक्टर लुक्समा प्रस्तुत छन् । प्रदीप योद्धाको भूमिकामा देखिएका छन् । उनको पृष्ठभूमिमा दौडिरहेको सेतो घोडा र आगो देख्न सकिन्छ । यसले उनको पात्र शक्तिशाली रहेको बुझाउँछ ।

‘एक्लो’मा दिनेश डीसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतको पनि अभिनय रहेको छ । करिब २ महिनादेखि सिनेमाको बेलायतमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । गत मेमा भएको विश्वविख्यात कान्स फेस्टिभलमा स्टल नै राखेर सिनेमाको प्रचार गरिएको थियो ।

यो सिनेमाका निर्माताहरुमा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । सिनेमाको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश गुरुङको सम्पादन तथा राजु तामाङको द्वन्द्व निर्देशन छ ।