द सिनेमा टाइम्स, काठमाडौं । राष्ट्रिय लोकसंचारकर्मी नेपालले सामाजिक सद्भाव भड्काउने शब्द समावेश ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । आइतबार अपरान्ह संस्थाका पदाधिकारीले ब्युरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् ।
संस्थाले आफ्नो उजुरीमा पछिललो समय युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालमा सार्वजनिक भएका केही गीतहरू अत्यन्तै अमर्यादित, अश्लील, द्विअर्थी र सांस्कृतिक मर्यादाविपरीत रहेको उल्लेख गरेको छ । यी गीतले युवा पुस्तामा नकारात्मक प्रभाव पार्नुका साथै समाजमा अपसंस्कृति फैलाइरहेको संस्थाको ठहर छ ।
केही समय यता युट्युबमा सार्वजनिक भएका ध्रुब पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली र अस्मिता थापा, लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ र चर्चित गायक रामजी खाँण र गायिका शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध यो संस्थाले उजुरी दिएको हो । उनीहरुसँगै तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको हाउभाउले सामाजिक सद्भाव भड्काउन समेत उजुरीमा उल्लेख छ ।
यस्ता, विकृत फैलाउने अश्लिल गीतलाई नियन्त्रण गर्न माग गर्दै संस्थाले उजुरी दिएको हो । शुक्रबार पनि संस्थाले गृहमन्त्री रमेश लेखकलाई भेटेर यी गीतमा रोक लगाउन माग गर्दै ज्ञापन बुझाएको थियो । जवाफमा गृहमन्त्री लेखकले साइबर ब्युरोलाई कलाक्षेत्रको साइबर अपराध हेर्ने गरि फोकल पर्सन तोक्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया