द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिनेमा ‘गुन्यो चोलो : दि ड्रेस’को पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै आगामी भदौ १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
सोमबार सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द रचना तथा कम्पोज र मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ । कमल राईको कोरियोग्राफी रहेको गीतमा नाजिर हुसेन फिचर्ड छन् । गीतको भिडियोमा नाजिर बेहुलीझैँ सिंगारिएर नृत्य गरिरहेका देखिन्छन् । उनी दुरुस्तै महिला देखिएका छन् । उनको हाउभाउ र नृत्य शैली पनि महिलाजस्तै छ । नृत्य गरिरहँदा उनको अनुहारमा पीडाभाव झल्किएको छ ।
नजिरले यो सिनेमामा ट्रान्सवुमनको भूमिका निवार्ह गर्न करिब १६ केजी तौल घटाएका थिए । उनले यो सिनेमामा निकै मेहेनत गरेको छनक आज सार्वजनिक पहिलो गीतबाटै मिलेको छ । गीतको भिडियोमा नाजिरसहित सुशील सिटौला, उत्तम केसी, स्वर्गिय सानु ताम्राकार, शिशिर राणा लगायतका कलाकारहरु पनि देखिएका छन् । सिनेमाको गीत सार्वजनिक कार्यक्रममा गायिका पोखरेलले गीतको सानो अंश गाएर सुनाएकी थिइन् ।
यो सिनेमालाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन । उनले सिनेमाको कथालाई न्याय दिन निकै मेहेनत गरेको बताउँछिन् । सिनेमाको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु निलहिरा समाज र मितीनी नेपालसंग पनि परामर्श निर्देशक भट्टले गरेकी थिइन । यो सिनेमालाई लिएर समुन्द्र निकै आशावादी छिन । ‘गुन्यो चोलो’ले आफ्नो निर्देशनको यात्रामा थप उचाई दिने उनको विश्वास छ ।
अमेरिकी कम्पनी भिजन इन्टरटेनमेन्ट र दि स्काई ओसन इन्टरटेनमेन्ट तथा साबसुङ स्टुडियोको ब्यानरमा निर्माण भएको सिनेमाले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ । सिनेमामा समुन्द्र र नाजिरको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमामा संचिता लुइँटेल, अनुपम श्रेष्ठ, विशाल पहारी र निशा बजगाईको पनि मुख्य भूमिका छ ।
सिनेमाको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम अमेरिकामा गरिएको हो । सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्को काम हलिउड शैलीमा तयार गरिएको छ । सिनेमामा हलिउड कलाकार लिजा जेरार्डले स्वर दिएकी छन भने ब्याकग्राउन्ड म्युजिकको काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन ।
नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमा नेपाली र हलिउड प्रोडक्सन हाउसको संयुक्त लगानीमा निर्माण भएको हो । सिनेमामा आकाश बुढाथोकी र भि.भान्से जानुबोनको लगानी छ । सिनेमाको कार्यकारी निर्माता रिथि प्यान, जेफ्री जे वेन र स्टिभन जोनस्टन हुन । अनुपम श्रेष्ठ सिनेमाका एसोसियट निर्माता हुन । आलोक शुक्लाले खिचेको सिनेमामा विजय बस्याल प्रोडक्सन डिजाइनर, पुष्कर लामा प्रोडक्सन हेड र राम भण्डारी क्रिएटिभ हेडमा छन ।


प्रतिक्रिया