वैदेशिक रोजगारीमा भोग्नुपरेका कठिनाइको कथा ‘रियाल रिङ्गेट’ ट्रेलर सार्वजनिक

वैदेशिक रोजगारीमा भोग्नुपरेका कठिनाइको कथा ‘रियाल रिङ्गेट’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक भएको छ । साउने संक्रान्ति अवसरमा सार्वजनिक सिनेमाको ट्रेलरमा नेपाली युवाले अपनाउन बाध्य वैदेशिक रोजगारी र त्यसको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ देख्न सकिन्छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा समावेश केही दृश्य मुटु चस्काउने खालका छन् । ती दृश्यले आतंकवादीको सामूहिक बन्दी बनाइएका नेपाली कामदारको झल्को दिन्छन् । सिनेमाका मुख्य अभिनेता अभिनेता प्रमोद चौलागाईले आतंकवादी समुहको कब्जामा रहेकै वेला नेपाल पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण समेत भइरहेको देखिन्छ ।

ट्रेलर सार्वजनिक भएपश्चात् सिनेमाका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा रहेको बताए । उनले भने, ‘यस सिनेमाले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीले भोग्नुपर्ने यथार्थ जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ ।’ सिनेमाको नाम ‘रियाल रिङ्गेट’ आफैंमा प्रतीकात्मक छ ।

सिनेमामा प्रमोदसहित निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतको अभिनय छ । सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी यसमा छ ।

रिबेल फिल्मस्को व्यानरमा गगनलाल प्रधानको लगानी रहेको सिनेमा ‘रियाल रिङ्गेट’को छायांकन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।