‘कोशेढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक

‘कोशेढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १२ गते ऋषिपञ्चमीबाट प्रदर्शनमा आउने सिनेमा ‘कोशेढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक तीज भाकाको यो गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका मगरको स्वर तथा नेत्र अर्यालको शब्द रचना अनि गायक सेन्चुरी स्वयंको हुकलाइन र संगीत छ ।

तीजको सेटअपमा तयार पारिएको गीतको भिडियोमा सिनेमाका तीन मुख्य अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त र नीति शाहसँगै स्नेहा जोशी नृत्य गर्दै देखिएका छन् । अविवाहित र विवाहित महिलाको भावना, अनुभव, भोगाइ र अनुभूतिलाई गीतमा प्रस्तुत गरिएको छ । ऋचा सिउँदोमा सिन्दूर र गलामा पोते लगाएर देखिएकी छन् भने सुरक्षा र नीति अविवाहित देखिन्छन् ।

सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमामा ऋचा, सुरक्षा र नीतिसहित आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा लगायतको अभिनय रहेको छ । यो सिनेमा महिलाप्रधान कथावस्तुमा आधारित छ ।

नरदेवी फिल्मसको प्रस्तुति सारङ्गी फिल्मसको सहकार्य रहेको सिनेमामा निर्देशक पौडेल स्वयंको लेखन छ । बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, सुप्रिम पराजुलीको रंग संयोजन तथा स्मृति तिमल्सेना र सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन । दिनेश खड्का कार्यकारी निर्माता रहेको सिनेमाको विदेश र डिजिटल राइट्स सभेन सिज इन्टरनेशनलले किनेको छ ।

सिनेमाको निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भाग लिन पाउनेछन् । निर्माण टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।