‘वार २’को धमाकेदार ट्रेलर सार्वजनिक, ऋतिक रोशन र जुनियर एनटीआर आमनेसामने

‘वार २’को धमाकेदार ट्रेलर सार्वजनिक, ऋतिक रोशन र जुनियर एनटीआर आमनेसामने

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउडको बहुप्रतीक्षित एक्सन थ्रिलर सिनेमा ‘वार २’को ट्रेलर सार्वजनिक भएको छ । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी मुख्य भूमिकामा रहेको सिनेमालाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । यही सिनेमाबाट दक्षिण भारतीय सिनेमाका सुपरस्टार जुनियर एनटीआरले बलिउडमा डेव्यु गरेका छन् ।

यशराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गत निर्माण भएको यो सिनेमा २०१९ मा प्रदर्शनमा आएको ‘वार’को सिक्वेल हो । जसमा पहिले ऋतिक रोशन र टाइगर श्रफ देखिएका थिए । तर, ‘वार २’मा टाइगरको ठाउँमा दक्षिण भारतीय सुपरस्टार जूनियर एनटीआरको दमदार उपस्थिति देखिएको छ । ट्रेलरको सुरुवातबाटै उच्च स्तरको एक्सन, गम्भीर संवाद र रहस्यले भरिएको कथाले दर्शकलाई आकर्षित गर्छ ।

ऋतिक रोशनको ‘कबीर’ पात्र अझ दमदार र खतरनाक देखिन्छ भने एनटीआरको पात्र ‘काली’ एक रहस्यमयी, तर घातक विरोधीका रूपमा उभिएको छ । कियारा आडवाणीले ग्ल्यामर र संवेदनात्मक भूमिका मार्फत् कथालाई थप प्रभावशाली बनाएकी छन् । ट्रेलरमा हवाई दृश्य, क्यासिनो लडाइँ, कार चेज, हेलिकप्टर हमलाका दृश्यहरू प्राविधिक रुपमा सशक्त देखिन्छन् ।

सिनेमाको सार्वजनिक ट्रेलरमा ऋतिक रोशन र एनटीआर जूनियरबीचको टकराव, प्रशंसनीय विश्वस्तरीय भिएफएक्स र साहसिक स्टन्ट अनि भारतको सुरक्षा प्रणालीमा घुसेको गद्दार खोज्दै जासुसहरूबीचको टक्करसहित व्याकग्राउण्ड म्युजिकले दर्शकलाई ऊर्जा दिएको छ ।

आदित्य चोपडाको लगानी निर्माण तथा अयान मुखर्जीको निर्देशनमा निर्माण भएको सिनेमाले यथार्थवादी एक्सन र चाखलाग्दो राजनीतिक षड्यन्त्र मिसाएको देखिन्छ । यो सिनेमा आगामी अगष्ट १४ तारिखबाट विश्वव्यापी प्रदर्शनमा आउँदैछ ।