दर्शकको राम्रो प्रतिक्रिया पाएको ‘मोहर’को ट्रेलर ७ देशमा ट्रेन्डिङमा

दर्शकको राम्रो प्रतिक्रिया पाएको ‘मोहर’को ट्रेलर ७ देशमा ट्रेन्डिङमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबार युट्युबमा सार्वजनिक भएको सिनेमा ‘मोहर’को ट्रेलरले दर्शकको मन जित्न सफल भएको छ। सार्वजनिक भएको २४ घण्टा नबित्दै ५ लाख बढी भ्यूज पाएको ट्रेलर हालसम्म ८ लाख २५ हजारभन्दा बढी पटक हेरिएको छ। नेपालसहित ७ देशमा ट्रेन्डिङमा परेको यो ट्रेलर युट्युबको मूभी ट्रेलर सेक्सनमा नेपालको २ नम्बरमा छ।

विदेशी दर्शकमाझ पनि ट्रेलरले व्यापक चर्चा पाएको देखिन्छ। मलेसिया (१७), जापान (२७), यूएई (१८), कतार (५), साउदी अरब (११) र दक्षिण कोरिया (१२) औं स्थानमा ट्रेन्डिङमा रहेको ट्रेलरले ३,९०० भन्दा बढी सकारात्मक प्रतिक्रिया बटुलेको छ। दर्शकहरूले कलाकारको अभिनय, सिनेमाको कथा र ट्रेलरको प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्।

करिब ३ मिनेट लामो ट्रेलरमा प्रेम, धोका, बदला र द्वन्द्व जस्ता तत्व समेटिएको छ। विशेषतः देउकी प्रथाजस्तो सामाजिक कुप्रथाको कथालाई केन्द्रमा राखिएको ट्रेलरले दर्शकलाई भावनात्मक रूपमा पनि छोएको छ।

ट्रेलरमा अभिनेता पल शाहको दुई फरक गेटअप र अभिनेत्रीहरू बेनिशा हमाल र नीति शाहसँगको सम्बन्धले कथामा थप रहस्य र आकर्षण थपेको देखिन्छ। साउन २३ गते जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा प्रदर्शनमा आउन लागेको ‘मोहर’लाई ओम प्रतिकले लेखन र निर्देशन गरेका हुन्।

सिनेमामा पल शाह, बेनिशा हमाल, नीति शाहसहित अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा र लक्ष्मी गिरीको समेत अभिनय रहेको छ। चुम्बन जंग शाही सिनेमाका निर्माता हुन्।