प्रेम र सम्बन्धका धागाहरूको कथा ‘जनै हराएको मान्छे’को गीत ‘मसुरीको दाना’ सार्वजनिक

प्रेम र सम्बन्धका धागाहरूको कथा ‘जनै हराएको मान्छे’को गीत ‘मसुरीको दाना’ सार्वजनिक

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को दोस्रो गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ। अञ्जु पन्त र एसडी योगीको स्वर रहेको यो गीत हर्क साउदको शब्द र एसडी योगीकै संगीत संयोजनमा तयार भएको हो।

प्रेमिल जोडीहरूको कथालाई उजागर गर्ने गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी लगायत सिनेमाका प्रमुख कलाकारहरू फिचर्ड छन्। सुनिल क्षेत्रीको कोरियोग्राफीमा बनेको भिडियोमा कोरस कलाकारहरूको ठुलो संख्यामा प्रयोग गरिएको छ। विशेषतः विजय बरालको नृत्य अभ्यास र समर्पण भिडियोमा स्पष्ट देखिन्छ।

गीतको शब्दमा टिपिकल नेपाली भावनाहरू झल्किएको छ। प्रेमिकाले प्रेमीका लागि आफू योग्य रहेको कुरा बताउँदै जिन्दगी सँगै जिउनुपर्ने सन्देश दिइएको छ। दुनियाँको मन जित्नेहरू पनि आफ्ना व्यक्तिगत सम्बन्धहरूमा भने टुंगो नलाग्ने यथार्थबाट गीत सुरु हुन्छ।

विजय बरालको मुख्य भूमिका रहेको यो सिनेमामा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगरजस्ता कलाकारको अभिनय देख्न पाइनेछ।

भानुभक्त ढकालले लेखेको कथा, पटकथा र संवादलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका छन्। मनिष राउत एसोसिएट निर्देशकका रूपमा रहेका छन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

सिनेमाको सम्पादन भरत रेग्मीले, कलर सुप्रिम पराजुलीले, एक्सन निर्देशन चुल्ठे काजीले गरेका छन् भने निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन्। शाहिल खानले टिजर-ट्रेलर तयार पारेका छन्।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल सिनेमापछि विजय बराल मुख्य भूमिकामा देखिने भएकाले पनि ‘जनै हराएको मान्छे’ लाई यस वर्षको एक महत्त्वपूर्ण नेपाली सिनेमाका रूपमा हेरिएको छ। सिनेमाको वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।