द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’ यतिबेला प्रचार प्रसारमा व्यस्त छ। ट्रेलर, पोस्टर लगायतका प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रो हाइप बनाएको सिनेमाका टिम अहिले राजधानीमा विभिन्न कार्यक्रममार्फत प्रचार अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिनेमाबारे महत्वपूर्ण जानकारी दिइयो।
कार्यक्रममा बोल्दै निर्देशक राजबहादुर सानेले ‘सिटामोल’ कर्णाली क्षेत्रको गरिबी बेच्न होइन, त्यहाँका समस्याहरू देखाएर समाधान खोज्ने प्रयास भएको स्पष्ट पारे। ‘सिनेमा मार्फत हामीले गरिबी बेच्न खोजेका होइनौं, समस्या देखाएर समाधान होस् भन्ने उद्देश्य राखेका हौं,’ उनले भने, ‘म स्वयं जुम्लामा जन्मिएको हुँ र त्यहाँको पीडादायी यथार्थ भोगेको छु। त्यही अनुभूतिलाई सिनेमामा उतारेको हुँ।’
उनका अनुसार अघिल्लो पुस्तामा कर्णालीमा नुन ल्याउन भेडाको सहारा लिनुपर्ने अवस्था थियो। अहिले बाटो-घाटो सहज भएका छन् र कृषि प्रणालीमा सुधार देखिएको छ तापनि कर्णाली अझै पनि देशकै एक विकट क्षेत्र हो। ‘कुनैबेला जुम्लाबाट कालिकोट जानु नै विदेशी मुलुक जानुजस्तै लाग्थ्यो,’ सानेले सुनाए।
जनसेना समायोजनपछि उत्पन्न पीडा सिनेमामा देखाउने प्रयास गरेका छौं । निर्देशक सानेले ‘सिटामोल’ जनयुद्धपछिको सामाजिक-आर्थिक यथार्थमा आधारित रहेको जानकारी दिए। युद्धका क्रममा विस्थापित भएका धेरै मानिसहरू समायोजनपछि मानसिक, शारीरिक वा सामाजिक रूपमा समस्यामा परेका थिए। ‘त्यही कथालाई हामीले सूक्ष्म रूपमा पर्दामा उतार्न खोजेका छौं,’ सानेले बताए।
यो सिनेमाले सम्बन्ध सुधारको सन्देश बोकेको कथा भन्ने छ । उक्त कार्यक्रममा उपस्थित अभिनेत्री बेनिशा हमालले ‘सिटामोल’ बिग्रिएको सम्बन्ध सुधार्न सहयोगी हुने कथा भएको बताइन्। ‘सामान्य सिटामोल औषधिले सबै रोग निको पार्न सक्दैन। तर हाम्रो ‘सिटामोल’ले सम्बन्ध कसरी मजबुत बनाउने भन्ने कुरा सिकाउँछ,’ उनले भनिन्, ‘जब आफ्नो मान्छेले साथ दिन्छ, जीवन कस्तो हुन्छ भन्ने कुरा पनि यसले देखाउँछ।’
त्यस्तै, अभिनेता सौगात मल्लले ‘सिटामोल’ शब्दलाई विम्बको रूपमा प्रयोग गरिएको बताए। ‘औषधिले शरीरको पीडा कम गर्छ, सिनेमा ‘सिटामोल’ले सम्बन्धको पीडा कम गर्छ,’ उनले प्रस्ट पारे । यो सिनेमा आफूले खेलेका सिनेमामध्ये धेरै रोएको सिनेमा भएको पनि उनले बताए। ‘सिनेमामा रोइनु अलग अनुभव हो,’ सौगातले भने, ‘जब कथाको प्रवाह अनुसार पात्रले भोगेको पीडा महसुस हुन्छ, आँसु आफैँ बग्छ।’
‘सिटामोल’लाई लिएर दर्शकमाझ सकारात्मक अपेक्षा रहेको सार्वजनिक प्रचार सामाग्रीबाट बुझ्न सकिन्छ । सामाजिक यथार्थ, सम्बन्धको द्वन्द्व र युद्धपछिको मनोविज्ञानलाई समेटेको ‘सिटामोल’लाई दर्शकले सकारात्मक रूपमा लिने निर्माण टिमको विश्वास छ। ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सिनेमाप्रति चासो र उत्सुकता देखिएको छ।
अब सिनेमाले प्रदर्शनपछि दर्शकमाझ कति प्रभाव पार्छ भन्ने भने साउन २३ गतेपछि मात्रै थाहा हुनेछ।


प्रतिक्रिया