द सिनेमा टाइम्स, काठमाडौं । बलिउड सुपरस्टार आमिर खानले आफ्ना दर्शकलाई चकित बनाउँदै आफ्नाे पछिल्लो सिनेमा ‘सितारे जमीन पर’ युट्युबमार्फत रिलिज गर्ने निर्णय गरेका छन् । यसअघिसम्म हलमा प्रदर्शनपछि ओटीटीमा रिलिज हुने प्रचलनलाई तोड्दै उनले ‘पे-पर-भ्यू’ मोडल अपनाउने घोषणा गरेका हुन् ।
यो सिनेमा १ अगस्टदेखि युट्युबको मूभिज-अन-डिमान्ड सेक्शनमा हेर्न सकिनेछ। दर्शकले भने सिनेमा निःशुल्क हेर्न पाउने छैनन्। भारतमा सिनेमाको मूल्य भारु १०० तोकिएको छ भने अमेरिका, क्यानडा, ब्रिटेन, अष्ट्रेलिया, सिंगापुरसहित ३८ अन्तर्राष्ट्रिय बजारमा स्थानीय मूल्य निर्धारणको आधारमा उपलब्ध हुनेछ।
नेटफ्लिक्सको ठुलो अफर पनि अस्वीकृत
सिनेमा रिलिजअघि नै नेटफ्लिक्सले भारु १२५ करोडको अफर दिएको थियो तर आमिरले त्यो अस्वीकार गरेका थिए । उनले सिनेमालाई सिर्जनात्मक स्वतन्त्रता र पहुँचको सन्दर्भमा फरक तरिकाले प्रस्तुत गर्न चाहेका छन् ।
हलदेखि युट्युबसम्मको यात्रा
भारतमा मात्र १६४ करोड भारु कमाई गरिसकेको यो सिनेमाले समीक्षकहरूसँग पनि राम्रो प्रतिक्रिया पाएको छ । आमिरले आफ्नो निर्णयबारे भेराइटी म्यागजिनसँग कुरा गर्दै भनेका छन्, ‘१५ वर्षअघि मलाई लाग्यो, थ्री इडियट्स र दंगलजस्ता सफल सिनेमा हेर्नेको संख्या हाम्रो कुल जनसंख्याको २/३ प्रतिशत मात्र हो। बाँकी ९७/९८ प्रतिशतसम्म हामी पुग्न सकेनौं। यही सोचले मलाई युट्युबको ‘पे-पर-भ्यू’ मोडलमा जान प्रेरित गर्यो।’
आमिर खानको अनुसार भारतमा मात्र ५५ करोडभन्दा बढी युट्युब प्रयोगकर्ता छन्, जसले उनलाई डिजिटलमार्फत सिनेमा पुर्याउन प्रेरित गर्यो ।
नयाँ प्रयोग, नयाँ सम्भावना
बलिउडमा प्रायः सिनेमाको पोस्ट-थिएट्रिकल प्रदर्शन ओटीटी प्लेटफर्ममार्फत हुने चलन छ । तर आमिरको यो कदमले भारतीय फिल्म उद्योगलाई नयाँ सम्भावना र रणनीतिको बाटो देखाएको विश्लेषकहरूको भनाइ छ ।
‘सितारे जमीन पर’को युट्युब रिलिजले डिजिटल वितरणको परम्परागत मोडलमा ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको छ। अब हेर्न बाँकी छ – के आमिरको यो प्रयोगले बलिउडमा नयाँ ट्रेन्ड जन्माउँछ त ?


प्रतिक्रिया