द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । जसले लैंगिक अल्पसंख्यक समुदाय विशेषगरी ट्रान्सवुमनको भावनात्मक संघर्ष र सामाजिक द्वन्द्व उजागर गरेको छ ।
समुन्द्र भट्टको निर्देशनमा बनेको सिनेमाको ट्रेलरले एक छोराले आफ्नो लिंगीय पहिचान स्वीकार गर्दै महिला बन्ने यात्राको चुनौतीपूर्ण कथा प्रस्तुत गरेको छ । ट्रेलरमा देखिएअनुसार मुख्य पात्रले बाल्यकालदेखि नै महिलाको पहिरनप्रति रुचि देखाउँछ । तर बुवाले जबरजस्ती ‘लाउरे’ बनाउने दबाब दिन्छन् ।
यही तनावले गर्दा घरभित्र र समाजमा उसले भोग्नुपरेको व्यवहार, अस्वीकृति र पीडालाई ट्रेलरले गहिरो रूपमा चित्रण गर्छ । नाजिर हुसेनले सिनेमामा ट्रान्सवुमनको प्रमुख भूमिका निर्वाह गरेका छन् । उनका साथै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी पनि प्रमुख भूमिकामा देखिन्छन् ।
सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले ले खरिद गरेको छ । सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य हलिउड प्रविधिमा सम्पन्न गरिएको सिनेमामा ग्ल्याडिएटर-२ मा समेत स्वर दिएकी लिजा जेरार्डको आवाज रहेको छ भने म्युजिक मार्सेलो दी फ्रान्सिसी ले कम्पोज गरेका छन् ।
नेपाली र हलिउड प्रोडक्सन हाउसबीचको सहकार्यमा बनेको सिनेमामा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन छन् भने अनुपम श्रेष्ठ सह-निर्माताको भूमिकामा छन्।
‘गुन्यु चोलो : द ड्रेस’ आगामी भदौ १३ गते (August 29, 2025) बाट प्रदर्शनमा आउनेछ। नेपाली सिनेमाउद्योगमा यो सिनेमालाई लैंगिक विविधता र समावेशी कथावस्तुलाई लिएर आएको साहसी कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया