द सिनेमा टाइम्स, काठमाडौं । माधव खरेल निर्देशित सिनेमा ‘चिट्ठी’को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी, कलाकार तथा निर्माण टोलिको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘चिट्ठी’को ब्यानर एरा प्रोडक्सन हो । यो सिनेमा हरर र कमेडीको समिश्रणमा निर्माण गरिएको हो । सार्वजनिक गरिएको गीत ‘सिन्दुरको रंग’ सिनेमाको भावनात्मक मेरुदण्ड हो । गीतमा विवाह, समर्पण, विश्वास र महिलाको मौन संघर्ष झल्काइएको छ।
सार्वजनिक गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत र बेनिषा पौडेलको स्वर रहेको छ। गायिका पौडेलले गीतमा अभिनयसमेत गरेकी छन् । गीतको भिडियोमा अभिनेता संजीत भण्डारी र कञ्चन चालिसेको सशक्त अभिनय देख्न सकिन्छ । निर्देशक खरेलका अनुसार ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तरआत्माको आवाज हो, जसले दर्शकको मन छोने अपेक्षा गरिएको छ ।
सिनेमा ‘चिट्ठी’ पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्य आत्माबीचको अन्तरद्वन्द्वमा आधारित छ । यसले सामाजिक यथार्थता, निकायगत विकृति, पारिवारिक भावना र मानव प्रवृत्तिलाई उजागर गर्ने प्रयास गरेको छ।
सिनेमामा खड्ग बहादुर पुन ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, संजीत भण्डारी, कञ्चन चालिसे, मुस्कान लामा, मोहन निरौला, शान्तिप्रिय, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला लगायतको अभिनय रहेको छ।
निर्माताको भूमिका पनि सञ्चारकर्मी कमला जोशी ले निभाएकी छिन् । सिनेमाको छायांकन जीवन पराजुली र राजन खरेल, सम्पादन राजेश कुमार, भीएफएक्स समिर मियाँ, ध्वनि सम्पादन मनोज परियार र ५.१ ध्वनी सम्पादन अमित श्रेष्ठ द्वारा गरिएको छ।
सिनेमामा द्वन्द्व निर्देशन किरण दाहाल र ब्याकग्राउण्ड संगीत पुष्कर खत्रीको रहेको छ । कार्यक्रममा उपस्थित सञ्चारकर्मीसँग संवाद गर्दै कलाकार, निर्माता र संगीतकर्मीले गीत तथा सिनेमाको विषयमा आ-आफ्ना धारणा राखेका थिए ।



प्रतिक्रिया