द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोहर’को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ ।
वियोगान्त भावनाले भरिएको यो गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ भने प्रभा बर्तौलाको कर्णप्रिय शब्दमा थानेश्वर गौतमकै संगीत रहेको छ । गीतको धुन र भावले सिनेमाभित्रका पात्रहरुको पीडा, विछोड र गहिरो मनोभावलाई दर्शाउँछ ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो सिनेमामा चुम्बन जंग शाही निर्माता हुन् भने सिनेमाको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन् ।
सिनेमामा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, दत्त पण्डितलगायत चर्चित कलाकार अभिनय रहेको छ । बालकलाकार सारा शर्माले पनि विशेष भूमिका निर्वाह गरेकी छिन् ।
दीपेन बस्न्यातको सिनेम्याटोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, कुमार महर्जनको एक्सन र रामजी लामिछाने तथा कविराज गहतराजको कोरियोग्राफीले सिनेमालाई प्राविधिक रूपमा सशक्त बनाएको छ।
यसअघि सार्वजनिक गरिएको ट्रेलर र २ गीतले नै दर्शकहरूको राम्रो प्रतिक्रिया पाइसकेको सिनेमा ‘मोहर’ले यस वियोगान्त गीतमार्फत अझै गहिरो भावनात्मक सम्बन्ध दर्शकमाझ स्थापित गर्ने विश्वास लिइएको छ ।


प्रतिक्रिया