‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक

‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गतवर्षको सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेको नयाँ सिनेमा ‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक भएको छ । यसअघि तीजको डान्सिङ गीत सार्वजनिक गरेको निर्माण टिमले सोमबार प्रेमिल गीत सार्वजनिक गरेको हो ।

प्रेममा रहेका युवायुवतीले एकले अर्कासँगै जीवन बिताउन आग्रह गर्दै सुखी जीवन यापनका लागि आम्दानीको स्रोत के हो भन्ने प्रश्न समेत गरेको छ । जिन्दगी विताउन पैसा पनि चाहिन्छ भन्ने गीतले प्रेमसँगै जोडिएर आउने भविष्यको समस्यालाई पनि दर्शाउने प्रयास गरेको छ । प्रेमी प्रेमिकाले एकअर्कालाई जिस्काउँदै सरकारी जागीर रहेको भन्दै लोभ्याउनेदेखि कति तलब छ भनेर सोधेको प्रसंगसमेत गीतमा छ ।

भंगेरा र भंगेरीको मायालाई बिम्ब बनाएर तयार गरिएकोे गीतमा बैंस साट्ने मायालु जोडीको कथा छ । गीतमा स्वर रिदम कँडेल र बेनिशा पौडेलको छ भने संगीत रिदम कँडेलको छ । शब्दरचना बिदुर तिमल्सिना (देवदूत)को छ । गीतको भिडियोमा सुरक्षा पन्त र मन्जिल कुमार फिचर्ड छन् । सिनेमाको यसअघि सार्वजनिक भएको ‘नत्र भने जिन्लगी व्यर्थ छ’ अहिले टिकटकमा हिट छ ।

आगामी भदौ १२ गते रिलिज हुने नरदेवी फिल्मस्को प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको सिनेमा ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, स्नेहा जोशी, सविता रेग्मी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ । सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग तथा कार्यकारी निर्माता दिनेश खड्का छन् ।

बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत रहेको सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । यो सिनेमा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाई दिने अपेक्षा निर्माण टिमको छ ।