द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुङ्गा’को निर्माण टिमले पब्लिसिटी अभियानलाई तीव्र पारेको छ । प्रचारलाई प्रभावकारी बनाउन टिमले सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्तको स्वरमा वाचन गरिएको कविता सार्वजनिक गरेको छ ।
लिरिकल भिडियोमार्फत सार्वजनिक गरिएको उक्त कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्पको भाव समेटिएको छ । भिडियोमा सिनेमाका केही दृश्य र स्टिल फोटो प्रयोग गरिएका छन् । कविताले टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जीवन, सम्बन्धमा विश्वास र पर्खाइमा बस्ने परिवारको भावनात्मक चित्रण गर्दै कथाको संकेत गरेको छ ।
यससँगै, निर्माणपक्षले सिनेमाका तीन पोस्टर पनि सार्वजनिक गरेको छ । पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिग्देल , प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले फिचर्ड छन् । दोस्रो पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी देखिएका छन् । तेस्रो पोस्टरमा सुरक्षा पन्तले भारी बोकेकी दृश्य र मन्जिल कुमारको नजरको दृश्य समेटिएको छ । तीनै पोस्टरमा कलाकारहरू चरित्रका लुक्समा प्रस्तुत छन् ।
यसअघि, निर्माणपक्षले प्रेमिल गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक गरेको थियो भने सोभन्दा पहिलेको गीत ‘नत्र भने जिन्लगी व्यर्थ छ’ अहिले टिकटक ट्रेन्डमा रहेको छ । ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलको निर्देशनमा बनेको ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदैछ ।
नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको यो सिनेमामा सुरक्षा पन्त, आर्यन सिग्देल , ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, स्नेहा जोशी, सविता रेग्मी, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माताको भूमिकामा रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन र आशिष अविरल, खेम सेन्चुरी तथा रिदम कँडेलको संगीत सिनेमामा रहेको छ ।
‘कोशेढुङ्गा’ नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ । सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदी र रमेश ढकालले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने यस सिनेमाले यति धेरै देशमा पहिलो पटक एकसाथ प्रदर्शन हुँदै नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।



प्रतिक्रिया