आर्यनकी भाञ्जी आर्हीले ल्याइन अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’

आर्यनकी भाञ्जी आर्हीले ल्याइन अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।

गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क-पप, हिप-हप र नेपाली/एसियाली संगीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन् ।

‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो । यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश छन् । यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ’, उनले भनिन् ।

बाल्यकालदेखि नै गीतसंगीतप्रति लगाव रहेको बताउँदै आर्हीले गायनमा रुचि बढेको स्मरण गरिन् । ‘टक्सिक ट्रुथ’ मार्फत साङ्गीतिक यात्रा सुरु गरेकी आर्हीले संगीत र कलाप्रति आफ्नो लगाव कहिल्यै कम नहुने बताइन् । उनले संगीतमार्फत नेपाललाई अन्तर्राष्ट्रियमञ्चमा पुर्‍याउनु आफ्नो सपना रहेको बताइन् ।

गीतको भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन् । भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका छन् । एक दशकअघि भिडियो निर्देशनमा सक्रिय दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् । निर्देशक केसीले भिडियोमा इन्स्टलेशन आर्टको प्रयोग गरिएको बताए ।

भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायांकन विनोद श्रेष्ठले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न भएको छ । उक्त भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ ।