‘जारी २ : सङ अफ च्याब्रुङ’को टिजरमा प्राथमिकता पाएको च्याब्रुङ के हो, किन यति धेरै प्राथमिकता पायो ?

‘जारी २ : सङ अफ च्याब्रुङ’को टिजरमा प्राथमिकता पाएको च्याब्रुङ के हो, किन यति धेरै प्राथमिकता पायो ?


द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै बहुप्रतिक्षित सिनेमा मध्येको एक हो, ‘जारी २’ । ‘जारी २’ लाई निर्माण पक्षले सङ अफ च्याब्रुङ’को ट्याग दिएको छ । यो सिनेमाको नाम नै ‘जारी २ : सङ अफ च्याब्रुङ’ राखिएको छ ।

टिजरमा आइपुग्दा मात्रै होइन पोस्टर देखि नै ‘जारी २’मा च्याब्रुङमा स्थान पाउँदै आएको थियो । सिनेमाका मुख्य पात्रसँगै ठूलो स्पेशमा ठूलो च्याब्रुङ राखिएको थियो ।

टिजरमा यसल झन धेरै स्पेश पायो । टिजरमा यो किन बजाइन्छ र कसरी बजाइन्छ भनेर जानकारी दिइएको छ । मान्छे खुसीमा रमाउँदा होस् वा खुसी व्यक्त गर्दा होस् च्याब्रुङ बजाउने गरिएको र टुटेको सम्बन्ध पुनःस्थापित भइसकेपछि त्यसलाई निरन्तरता दिन पनि च्याब्रुङ बजाउन र यसको तालमा नाच्न जान्नुपर्ने कुरा टिजरमा देखाइएको छ ।

श्रीमान् र श्रीमतीको सम्बन्ध पुनःस्थापित भइसकेपछि त्यसलाई अझै सुमधर बनाएर अगाडि बढाउन च्याब्रुङ बजाउन जान्नै पर्ने अवस्था रहेको भन्दै सिनेमा दयाहाङ राईको सालोको भूमिकामा रहेको अनिल सुब्बाले सिकाएको दृश्य छ ।

खुसी व्यक्त गर्ने माध्यम नै च्याब्रुङ रहेको र यो नरहे लिम्बू जाति पनि नरहने टिजरमा उल्लेख छ । पुरै टिजर नै च्याब्रुङको वरिपरि घुमेको छ । यति धेरै स्पेश पाउने च्याब्रुङ के हो ?, लिम्बू समुदायका लागि मात्रै नभएर सबै दर्शकका लागि बनेको सिनेमाको टिजरमा यति धेरै स्थान पाउने च्याब्रुङ क हो भन्ने जिज्ञासा हुनु स्वभाविकै हो ।

च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायका मानिसको परम्परागत लोक बाजा हो । लिम्बू समुदायका मानिसहरूले उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्दछन् ।

मादल जस्तै ठूलो काठको ढुंग्रोमा दुबैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा मादलमा जस्तो खरीको प्रयोग गरिँदैन । च्याब्रुङमा प्रायजसो मरेको गोरु वा गाईको छाला प्रयोग गरेर बनाइन्छ । कतै कतै भने बाघको छाला प्रयोग गरेको पाइन्छ ।

लिम्बू समुदायमा विवाह, भोजभतेर, विभिन्न कार्यक्रमलगायतका अवसरमा बेग्लाबेग्लै ताल, लय र भाकामा च्याब्रुङ बजाएर नाचिन्छ ।

आदिवासी लिम्बू समाजको सामाजिक आभूषणका रुपमा च्याब्रुु्रङलाई लिइन्छ । लिम्बू बहुल समाजमा सबै प्रकारका शुभकार्यहरुमा च्याब्रुङको प्रयोग हुन्छ ।

नयाँ घर बनाए पछि लिम्बू परम्परा अनुसार गरिने अक्वामाको पूजामा र विवाह समारोहमा च्याब्रुङ बजाएर च्याब्रुङको धुनसँगै खुट्टाको चालमा महिला तथा पुरुषहरु लहरै नाच्छन् ।

अक्वामा पूजामा नयाँ घरको मूल खम्बाको वरिपरि च्याब्रुङ बजाउँदै नाचिन्छ भने विवाह उत्सवमा खुला चउरमा सामुहिक नाच गरिन्छ । पुरुषहरुले च्याब्रुङ भिरेका हुन्छन् । महिलाहरुले भने समान्यतया च्याब्रुङ वोकेको पाइँदैन । तर महिलाहरु पनि तालमा ताल मिलाएर नाच्ने गर्दछन् ।

लिम्बू कुल गुरु येवा, येमा र सान्बाले गुरु पूजा गर्दा याग्राङसिंग गाडेर अनुष्ठान गर्दा च्याब्रुङ बजाउने प्रचलन छ । यसबाहेक घरपैंचो, स्वागत सत्कारमा यो बाजा बजाउने गरिन्छ ।

गलामा छालाको डोरी झुन्ड्याएर छातीमा अड्याएपछि एकातिर हत्केलाले र अर्कोतिर छोटो च्याप्टो लट्ठीले हिर्काएर धुन सिर्जना गरिन्छ ।

लिम्बू आख्यान अनुसार तिगेन्जोङ्नाका छोराहरू नाम्सामी (मानव) र केसामी (बाघ) बीच भएको युद्धमा केसामीको पराजय तथा मृत्युपछि उसको छालाबाट च्याब्रुङ बनाइएको हो । अर्को लोक आख्यान अनुसार सोधुङ्गेन लेप्सुहाङका छोरा पाजाइबाले प्रथक घर बनाए पछि घुन लागेर भत्कनबाट जोगाउन च्याब्रुङकोे उत्पत्ति भएको हो ।

च्याब्रुङ नाचमा गीतको खासै प्रयोग भएको पाइदैन । यो एक प्रकारको मौन नाच जस्तै हो । यो नाचमा च्याब्रुङको धुनको महत्व हुन्छ । च्याब्रुङ नाच विभिन्न प्रकारका हुन्छन् । लिम्बू संस्कृतिक अध्येताहरुको भनाइमा च्याब्रुङ नाचसँग विभिन्न जंगली जनावरहरुको चालसंग जोड्ने गरिन्छ । बनमा विचरण गर्ने घोरलको चाल जस्तै चाल चलेर नाच्ने नाचलाई यासा लाःङ (घोरल नाच) भनिन्छ ।

कस्तुरी मृगको जस्तै नाच नाच्ने चाललाई खिरे लाःङ, ढुक्कुर जस्तै घुरेर नाच्ने नाचलाई सिप्पेथुक्पा लाःङ, परेवा जस्तै नाचेर गरिने नाचलाइ पेरेवा लाःङ, भनिन्छ । यसै प्रकारले भेडा नाच, चिल नाच, कयुर नाच, डाँफे नाच, चौरी नाच, भैसी नाच, बाग नाच, हात्ति नाच हुन्छ । यी सबै नाचमा धुन र खुट्टाको चाल मात्र फरक हुन्छ । च्याब्रुङ बनाएर नाच्ने चलन लादेन हाङबा र फुङदेन हाङवाले चलाएको विश्वास गरिन्छ ।

कोसी प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा र तराइका मोरङ, झापा र सुनसरीलाई मूल थातथलो बनाएका लिम्बूहरुको बसोबास अहिले नेपालका विभिन्न जिल्लामा छरिउका छन् । काठमाडौ उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौंमा पनि उनीहरुको बाक्लो बसोबास छ ।

यही लिम्बू समुदायको कथा चलचित्र ‘जारी’ले भनेको थियो । ‘जारी २’ले पनि यही कथा भन्दैछ । त्यसैले यो जातीको संस्कारसँग जोडिएको भएकाले यो सिनेमाले च्याब्रुङलाई केन्द्रमा राखेको हो ।

‘जारी २ : सङ अफ च्याब्रुङ’ असोज ३ गते रिलिज हुँदैछ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

सिनेमामा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमा यो वर्ष व्यापार गर्ने सिनेमाको श्रेणीमा राखिएको छ।

‘जारी’ सिनेमा २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।