द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘माग्ने राजा’का निर्माता मुनाल घिमिरले यो सिनेमा ‘छक्का पञ्जा ५’ हेरेपछि बनेको बताए । उनले भने, ‘सायद ‘छक्का पञ्जा ५’ मैले हेरेको थिइनँ भने यो सिनेमा बन्ने थिएन ।’
‘छक्का पञ्जा ५’ हेर्दा केदार घिमिरे (माग्ने बुढा) स्क्रिनमा देखिँदा दर्शकले बजाउने ताली र सिठ्ठी देखेर आफूले ‘माग्ने राजा’ बनाएको उनको भनाइ छ ।
‘जब माग्नेलाई सिनेमामा दर्शकले देख्थे ताली र सिठ्ठी बज्थ्यो । दर्शक हाँस्थे । यो देखेरे मलाई यो मान्छेलई हिरो बनाएर सिनेमा बनाउँदा कस्तो होला भन्ने लागेको थियो । तर उहाँले छक्का पञ्जा भन्दा बाहिरको सिनेमामा काम गर्नुहुन्न भन्ने कुरा आउँथ्यो,’ निर्माता मुनालले पत्रकार सम्मेलनमा भने, ‘तर मैले उहाँसँग कुरा गरेपछि हामी सहमत भयौँ र सिनेमा बन्यो ।’
केदारले काम गर्दिनँ भनेर रिजेक्ट हानेको भए यो सिनेमा नै नबन्ने मुनालले बताए । ‘केदारजीले म काम गर्दिनँ भनेर भनेको भए यो सिनेमा बन्दैन थियो,’ उनले भने, ‘हामीले अर्को प्रोजेक्ट पनि कसैलाई सोचेर बनाएको थियौँ । तर दुई वर्षपछि विभिन्न कारणले उहाँले काम नगर्ने भएपछि त्यो सिनेमै हामीले बनाएनौँ । त्यस्तै यो सिनेमा पनि बन्दैन थियो ।’
आफूले माग्ने बुढाको चरित्र लोकप्रिय भएको र दर्शकले मन पराएकै कारण त्यसमै लगानी गरेको उनले बताए । सिनेमा व्यापार पनि भएकाले बजारमा चलेको कुरालाई बेच्नुपर्ने उनले बताए ।
निर्देशक ऋषि लामिछानेले लवजबाहेक माग्ने बुढाको क्यारेक्टर ‘माग्ने राजा’मा केही पनि नरहेको उनले बताए । लवजबाहेक सबै कुरा नयाँ रहेको र त्यसका लागि सिनेमा नै हेर्नुपर्ने उनको भनाइ छ ।
संसारभर कुनै पनि चलेको क्यारेक्टरलाई लिएर सिनेमा बनाउने चलन रहेको र त्यसैक्रममा ‘माग्ने राजा’मा ‘मेरी बास्सै’को केदार घिमिरेको क्यारेक्टर लिएर त्यसमा सिनेमा बनाएको निर्देशक लामिछानेले बताए ।
आफूले सबैभन्दा धेरै फरकफरक काम गर्न पाएको कलाकार केदार घिमिरेले बताए । लवजबाहेक सबैमा ‘माग्ने राजा’मा फरक रहेको उनले बताए । ‘छक्का पञ्जा’मा रहेको लवजबाहेक केही पनि समानता नपाइने उनले प्रष्ट पारे ।
‘लुगा, स्टाइलसहित धेरै कुरा यो सिनेमामा फरक छ,’ उनले भने । तर आफूले भने लवज पनि यो बाहेक अरु नै राखेर काम गर्ने रहर रहेको तर नपाएको उनले बताए । ‘यो लवजमा होइन अरू नै लवजमा काम गरौँ भनेर भन्दा तपाईंको यही लवज मन परेर त काम तपाईंसँग काम गर्न आएको हो भन्नुहुन्छ,’ उनले भने ।
अभिनेत्री वर्षा शिवाकोटीले सिनेमाको कथा र मुख्य पात्रले क्यारी गर्ने कथा अनुसार आफ्नो रोल राम्रो रहेको बताइन् । आफ्नो पात्रले माग्ने राजाको यात्रामा प्रभाव पार्ने इम्प्याक्टफूल रहेको उनले बताइन् ।
‘स्क्रिप्ट पढेर राम्रो लागेर नै साइन गरेको हुँ । सुरुमा केही समय ग्याप भएका निर्देशक र निर्मातासँग काम गर्दा कम्फर्ट नहोला कि भन्ने लागेको थियो,’ वर्षा भन्छिन्, ‘तर, एकदम अपडेटेड र अपग्रेटेड पाएँ, जसले गर्दा काम गर्न पनि सहज भयो ।’
लेखक सामिप्य राज तिमिल्सेनाले अहिले आइरहेका भन्दा केही फरक खालको कथा रहेको उनले बताए । हसाउँदै गम्भीर र देशभक्तिको कथा पनि सिनेमाले भन्ने ट्रेलरमा पनि देखिएको उनले बताए ।
वर्षकै प्रतिक्षितमध्येको एक ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट रिलिज हुँदैछ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् ।
नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मसले वितरण गर्ने सिनेमामा सामिप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।


प्रतिक्रिया