‘गुन्यु चोलो’ ट्रेलरले पायो सकारात्मक प्रतिक्रिया, लैंगिक अल्पसंख्यकको कथा पर्दामा

‘गुन्यु चोलो’ ट्रेलरले पायो सकारात्मक प्रतिक्रिया, लैंगिक अल्पसंख्यकको कथा पर्दामा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली समाज अझै पनि अन्तरमुखी र पितृसत्तात्मक सोचमा जकडिएको छ । जहाँ महिलाले समेत आफ्नो पीडा खुलस्त राख्न नसक्ने अवस्था छ, त्यहाँ तेस्रोलिंगी समुदायको अवस्था अझ कठिन छ । घर-परिवार र समाजको डरले उनीहरू आफ्नो पहिचान दबाएर बाँच्न बाध्य छन् । यही संवेदनशील कथालाई सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ले पर्दामा उतारेको छ ।

गत हप्ता सार्वजनिक सिनेमाको ट्रेलरमा एक छोरो, जसको स्वभाव र चाहना महिलाजस्तै छ – हातमा चुरा, आँखामा गाजल, सारी-चोलोमा सजिएर बाँच्ने सपना – तर बाउले लाउरे बनाउन चाहँदा उसले दैनिक मानसिक यातना सहनुपरेको कथा देखाइन्छ ।

निर्देशक समुद्र भट्टका अनुसार, यो सिनेमाले नेपालमा दबिएर बस्न बाध्य लैंगिक अल्पसंख्यकको आवाज बुलन्द गर्न खोजेको हो । उनले भनिन्, ‘हामीले जस्तो अपेक्षासहित सिनेमा बनाएको थियौं, ट्रेलरको प्रतिक्रियाले हामी सफलताको नजिक छौँ भन्ने संकेत दिएको छ ।’

यो सिनेमामा मुख्य भूमिकामा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को चरित्र निर्वाह गरेका छन् । ‘होस्टेल’मार्फत चर्चित भएका नाजिरले यो सिनेमाले आफूलाई नयाँ रूपले चिनाउने विश्वास व्यक्त गरेका छन् ।

सिनेमामा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि महत्वपूर्ण भूमिका छ ।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा आधारित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । सम्पूर्ण पोस्ट-प्रोडक्सन हलिउड शैलीमा बाहिरै गरिएको यसमा लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको ब्याकग्राउन्ड म्युजिक छ ।

नेपाली र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ ।