द सिनेमा टाइम्स, काठमाडौं । कलाकार केदार घिमिरेको पहिलो सोलो लिड रहेको सिनेमा ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ । ऋषि लामिछानेको निर्देशन रहेको यो सिनेमा वर्षकै प्रतिक्षित सिनेमा हो ।
कमेडी जनरामा रहेको यो सिनेमाले दर्शकलाई हसाउँदै गम्भीर सन्देश पनि दिने केदार बताउँछन् । मनोरञ्जनसँगै सन्देश पनि दिने ‘माग्ने राजा’ पूर्ण प्याकेज भएको उनको दाबी छ ।
यो सिनेमा किन हेर्ने भन्ने प्रश्नमा केदार माग्ने बुढाले साइड रोल खेलिरहेकाले उसको सोलो रिलिज भएकाले हेर्नुपर्ने बताएका छन् ।
‘माग्ने बुढालाई साइड रोलमा हेरिरहँदा अलि धेरै देख्न पाए हुन्थ्यो भन्ने दर्शक पनि हुनुहुन्छ । मुख्य भूमिकामै खेल्दा के गर्दोरहेछ भन्ने जिज्ञासा भएका दर्शकलाई यो सिनेमा हेर्दा राम्रो हुन्छ भन्ने लाग्छ,’ केदार भन्छन् ।
अहिले कमेडी सिनेमा नआएको धेरै भएकाले कमेडी जनरा मन पराउनेका लागि यो सिनेमा हेर्नुपर्ने उनको भनाइ छ ।
‘कमेडी सिनेमा मन पराउनेहरूले यो सिनेमा हेर्नुपर्छ । तेस्रो कारण राम्री नायिकाको चलचित्र हेर्नेका लागि पनि यो सिनेमा हेर्नुपर्छ’ उनी भन्छन्, ‘ब्युटीफूल नायिका वर्षा शिवकोटी र मेरो केमेस्ट्री कस्तो छ, हाम्रो रोमान्स कस्तो देखिँदो रहेछ भनेर हेर्न पनि माग्ने राजा हेर्नुपर्छ ।’
तक्मे बुढा र आफूलाई सँगै हेर्न चाहनेका लागि पनि ‘माग्ने राजा’ हेर्नुपर्ने उनको धारणा छ । ‘तम्म बुढा र मलाई ‘मेरी बास्सै’मा हेरिरहनु भएका दर्शकका लागि फेरि एकपटक सँगै हामी देखिँदा कस्तो देखियो भनेर पनि हेर्न सकिन्छ,’ उनले अगाडि थपे, ‘अहिलेको पहिलो रोजाइको भिलेन शिशिर बाङदेल हुनुहुन्छ । उहाँसँगको मेरो द्वन्द्व कस्तो देखिन्छ । उहाँले हाम्रो बाटोमा कसरी अवरोध सिर्जना गर्नुहुन्छ भनेर हेर्न पनि यो चलचित्र हेर्नुपर्छ ।’
अर्को कारण देशभक्ति सिनेमा हेर्ने दर्शकका लागि पनि हेर्नै पर्ने चलचित्र भएको केदारको दाबी छ । ‘यो चलचित्रले हसाउँदै देशको माटो पनि बोल्छ । यसमा लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ भन्ने संवाद हजुरहरूले ट्रेलरमा सुन्नुभयो । यसले चलचित्रभित्र एउटा गहन विषय छ भन्ने बुझिन्छ । त्यसैले पनि यो सिनेमा हेर्नुपर्छ ।’
‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट रिलिज हुनेछ । सिनेमाले देशको सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति देखाउने बताइएको छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
नरेन्द्र मैनालीले खिचेको सिनेमा लाई आरआर फिल्मसले वितरण गर्ने छ ।सिनेमामा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।


प्रतिक्रिया