द सिनेमा टाइम्स, काठमाडौं । यस वर्षकै प्रतीक्षित सिनेमा ‘बलिदान’को टिजरले युट्युबमा धमाका मच्चाएको छ । टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १० लाख बढि भ्युज हाँसिल गरेको छ । यो सँगै नेपाली सिनेमामध्ये छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ ।
सामान्यतया सिनेमाका अन्य सामग्रीहरू गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा ‘बलिदान’ टिजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ । सिनेमाका मुख्ख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यो उपलब्धिको प्रमुख आधार मानिएको छ । देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ ।
टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’को परिचय दिइँदै देखाइएको छ । उनको दमदार संवाद – ‘यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ । यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ’ सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न पुगेको छ । यो संवादले नेपाली युवापुस्तामा ऊर्जा र गर्व महसुस गराएको टिप्पणीहरू व्यापक रूपमा आएका छन् ।
सिनेमामा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनयले पनि टिजरलाई थप बल पु¥याएको छ । यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक पि-टिजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो । अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि र्पुयाउँदै ‘बलिदान’को प्रतीक्षा चरम उत्कर्षमा पुगेको संकेत गरेको छ ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।


प्रतिक्रिया